डाक्टरी पढ्ने कर्णालीवासीको सपना पूरा भएको छ : राष्ट्रपति भण्डारी

डाक्टरी पढ्ने कर्णालीवासीको सपना पूरा भएको छ : राष्ट्रपति भण्डारी

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीवासीको सपना पूरा भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आइतबार जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाईको शुभारम्भ गर्दै औपचारिक रुपमा जुम्लामा चिकित्सा विज्ञानको पढाई सुरु भएको हो ।

प्रतिष्ठान स्थापनाको १० वर्षपछि एमबीबीएस (डाक्टरी) पढाई थालिएको हो । ‘यहाँका विद्यार्थीहरुले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भनि गरेको प्रयास आज सार्थक भएको छ,’ उनले भनिन्, ‘प्रतिष्ठानले दुर्गम क्षेत्रमा पुर्याएको गुणस्तरीय स्वास्थ्य सेवाले यहाँका बिरामीहरुमा परिवर्तन समेत ल्याएको छ ।’ दुर्गम क्षेत्रका गर्भवतीहरुका लागि राष्ट्रपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेकोमा पछिल्लो चरण्मा प्रतिष्ठानले दुर्गम क्षेत्रमा दिएको उपचारले गर्दा हवाई उद्धारको संख्या पनि घटेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठानमा २० जना एमबीबीएस अध्ययनका लागि कोटा भएपनि १९ जना विद्यार्थीहरु जुम्ला पुगिसकेका छन् । जुम्लामा पहिलो पटक स्नातक तहका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनमा आएका हुन् । एमबीबीएस अध्ययन गर्न १९ जना विद्यार्थी भर्ना भएका छन् भने बीफार्म मा ११ जना, बीएमएसतर्फ ८ जना बीएनएस नर्सिङ १६ जना र बीपीएचमा ८ जना विद्यार्थी भर्ना भइ आइतबारदेखि पढाइ सुरु भएको छ ।

एक जना डाक्टर पाउन मुस्किल हुने ठाउँमा डाक्टर उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए । प्रतिष्ठान आफ्नो लक्ष्य अनुसार अघि बढिहरको छ उनले भने, ‘अब छिट्टै स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रमहरु संचालन र पीएचडी तहका कार्यक्रमहरु पनि सञ्चालन गर्नेतर्फ प्रतिष्ठानको ध्यान केन्द्रित भएको छ ।’

२०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि २०६९ साल कात्तिक २३ गतेदेखि एकजना विशेषज्ञसहित ५ जना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा प्रतिष्ठानले सेवा दिइरहेको थियो ।

प्रतिक्रिया