दैलेखमा मानवअधिकार उल्लंघनका घटना बढ्दो

दैलेखमा मानवअधिकार उल्लंघनका घटना बढ्दो

दैलेख : दैलेखमा मानवअधिकार उल्लंघनका घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले संकलन गरेको तथ्यांकमा सन २०२० र सन २०२१ को अवस्था तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लंघनको अवस्था बढ्दो देखिएको हो । इन्सेकले सन २०२१ अर्थात एक बर्षको अवधीमा जिल्लामा ९९ वटा मानव अधिकार उल्लंघनका घटना भएको जनाएको छ ।

गत बर्ष अर्थात सन २०२० मा मानवअधिकार उल्लंघन र ज्यादतीका ७२ वटा घटनाबाट ८० जना पीडित बनेका थिए । इन्सेकका अनुसार सन २०२१ जनवरीदेखि हालसम्म ९९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । ती घटनाबाट एक सय ४ जना पीडित बनेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०२१ जनवरीदेखि संकलन गरेको मानव अधिकार हनन् तथा ज्यादतीका घटना सम्वन्धी वार्षिक पूर्वसमीक्षा यस्तो जानकारी दिइएको हो ।

पूर्वसमीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२१ जनवरीदेखि संकलन गरिएका मानव अधिकार हनन् तथा ज्यादतीका ९९ वटा घटनाहरु जानकारी गराएका छन् । दैलेखमा सबै भन्दा धेरै २८ वटा बलात्कार, १७ वटा बहुविवाह, ११ वटा हत्या, ११ जना अमानवीय व्यवहार, १० वटा जटिल प्रकारका घरेलु हिंसा, ७ वटा यौन दुव्र्यवहार, ६ वटा बालविवाह, ३ वटा आत्महत्या दुरुत्साहन, ३ वटा जातीय विभेद, २ वटा ज्यानमार्ने उद्योग र एउटा मानव बेचविखन घटना समेत ९९ वटा घटना संकलन गरेको इन्सेकले जनाएको छ ।

पूर्वसमीक्षा कार्यक्रममा दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले समाज लुकेको सबै घटना सार्वजनिक हुन सके अपराध नियन्त्रणमा सहयोग पुग्ने बताएका छन् । न्यायाधीश लामिछानेले चेतनाको अभावमा समाजमा व्याप्त घरेलु हिंसा रोकथाम गर्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउदै स्थानीय सरकारको अग्रसरता जरुरी रहेको बताए ।

जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले न्यायिक प्रक्रियमा गइसकेका घटनाहरुमा पनि आरोपितहरुको परिवारहरुलाई हतोत्साहित पार्ने गलत प्रबृति बिरुद्ध सञ्चार माध्ययमहरुले बोल्नुपर्ने आवश्यकता दर्शाए ।

दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद साहले इन्सेकले संकलन गर्ने तथ्यांक सरकारका निकायसंग भरपर्दो तरिकाले पुर्नपरीक्षण गरेर मात्र प्रकाशन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा महिला बालबालिका सेवा केन्द्र÷ बाल हेल्पलाइनज १०९८ का संयोजक रमा श्रेष्ठले अपराध पीडितहरुलाई होष्टाइल गराउने परम्परा बसेको कारण पीडितहरु थप पीडित हुने गरेको दुखेसो पोखिन् ।

नेकपा एकीकृत समाजवादीका सचिव मानबहादुर खड्काले अपराधीलाई बचाऊ गर्ने राजनीतिक संस्कारलाई निरुत्साहित गर्न नागरिक समाजले अगुवाई गर्न आग्रह गरे । दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले भोकै बस्नु परेका, औषधि नपाएको, बालबालिकाका जन्मदर्ता नपाएका घटनाहरु पनि समेट्नुपर्ने सुझाव दिए । मानव अधिकार रक्षक सञ्जालका संयोजक बिशाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ता रुक्मेडा पोखरेल, पत्रकार अविषेक अनुराग लगायतले सुझावहरु राखेका थिए ।

 

प्रतिक्रिया