अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता

अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता

हुम्ला : अन्तरजातीय विवाह गरेका हुम्लाका एक जना युवक तीन दिनदेखि बेपत्ता भएका छन् । युवतीको माइती पक्षले निर्घात कुटपिट गर्दै बेपत्ता पारेको उनका परिवारको दाबी छ । सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षीय चन्द्र कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेका थिए । उनीहरूले चन्द्रको घरसमेत तोडफोड गरेका छन् ।

घरमा आएर युवक र युवतीलाई माइती पक्षले अपहरण गरी लगेको युवकका बाबु धनञ्जय कामीले बताए । तर सुन्तली मल्ल भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक हेरम्ब शर्माले बताएका छन् । युवकलाई भने अझै भेटाउन नसकेको र खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

छोराले मंसिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर घर भित्र्याएको भन्दै युवती पक्षका करिब २० जनाको समूहले मंसिर २९ गते राति जैरगाउँका अन्य छिमेकीका घरहरूमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दातीहरू फाल्दै घरपरिवारसमेत कुटपिट गरेको पीडितका बाबु कामीले गुनासो गरे । उनले भने, ‘अन्तरजातीय युवती विवाह गरेका कारण छोराले कुटाइ खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन । छोरालाई उनीहरूले लगेदेखि अत्तोपत्तो छैन ।’

स्थानीयहरूका अनुसार कामी र मल्लले भागी विवाह गरेदेखि नै युवतीको माइती पक्षबाट धम्की दिइने गरिएको थियो । जसकारण उनीहरू सर्केगार्ड गाउँपालिकाको वडा २ को रीप गाउँमा बस्दै आएका थिए । पछिल्लो बुधबार राति अचानक युवकको घरमा माइती पक्ष आएर युवकलाई निर्घात कुटपिट गरेको युवकका बाबुले बताए । हुम्लाबाट युवक र युवतीलाई लिएर मुगु पुगेको भए पनि युवती सम्पर्कमा आएको र युवा अझै वेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लगे अझै अत्तोपत्तो हुन नसकेको बाबुले बताए ।

घटनालगत्तै छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफूले पुस १ गते प्रहरीलाई जानकारी गराएको बाबुले बताए। घटनाबारे जानकारी आएलगत्तै खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जना, तुम्च, गल्फागाड, श्रीनर र सर्केगाड प्रहरी चौकीबाट प्रहरी परिचालन भएर खोजी कार्य भइरहेको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

हुम्ला प्रहरीका अनुसार युवती सम्पर्कमा आएको र युवक अहिलेसम्म वेपत्ता नै छन् । ‘घटनाको जानकारी पाउनासाथ प्रहरी परिचालन भइसकेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले पनि प्रहरी परिचालन गरिसकेको छ । दुई जिल्लाबाट प्रहरी परिचाल भइसकेका छन् भने युवाको तीब्र खोजी कार्य भइरहेको छ’ प्रहरी उपरीक्षक शर्माले बताए । यस्तै दुर्गम क्षेत्र भएकाले प्रहरी टोली त्यसतर्फ जान कठिन भएकाले छिमेकी जिल्लाबाट पनि प्रहरी टोली खटिएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताएका छन् । उनले कान्तिपुरसित भने, ‘घटनास्थलतर्फ हाम्रो टोली जाँदैछ । खोजी भइरहेको छ । दुर्गम क्षेत्र भएकाले त्यसतर्फ पुग्न समय लागेको हो ।’ कान्तिपुरबाट

प्रतिक्रिया