काँग्रेस केन्द्रीय समितिमा कर्णालीबाट आठ जना

काँग्रेस केन्द्रीय समितिमा कर्णालीबाट आठ जना

दैलेख : नेपाली काग्रेसको १४ औँ महाधिवेशन हालै सम्पन्न भएको छ । महाधिवेशनको नतिजा पूरै आईसकेको छ । जसअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा कर्णाली प्रदेशबाट आधा दर्जन बढीले प्रतिनिधित्व गरेका छन् । १४ औं महाधिवेशनबाट एक पदाधिकारीसहित कर्णालीका सात जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

पूर्वमहामन्त्री समेत रहेका पूर्णबहादुर खड्का यसपटक उप-सभापतिमा निर्वाचित भएका छन् । उनीबाहेक सात जना केन्द्रीय सदस्य बनेका हुन् । कर्णालीका १० मध्ये सात वटा जिल्लाबाट सदस्य निर्वाचित भएका छन् ।

दैलेखकी सीताकुमारी राना केन्द्रीय सदस्य बनेकी छिन् । नेपाल महिला संघ दैलेखको सभापति समेत रहेकी रानाले दैलेख जिल्लाबाट पहिलो पटक काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । राना आदिवासी जनजाती महिला तर्फबाट केन्द्रीय निर्वाचित भएकी हुन् ।

खस–आर्य कोटाबाट जुम्लाकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । हुम्लाकी रंगमती शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी महिलातर्फको खुला सदस्यमा निर्वाचित भएकी हुन् । सुर्खेतबाट जानकी सिंह केन्द्रीय सदस्य बनेकी छिन् । उनी प्रदेशको महिला कोटाबाट उम्मेदवार बनेकी थिइन् ।

यस्तै जाजरकोटबाट राजीवविक्रम शाह र रूकुम–पश्चिमबाट मानबहादुर नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जाजरकोटका शाह प्रदेशको खुल्ला कोटाबाट र रूकुम– पश्चिमका नेपाली दलित कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । प्रदेशको खुलातर्फबाट डोल्पाका कर्णबहादुर बुढा केन्द्रीय सदस्य बनेका छन् ।

प्रतिक्रिया