आत्मनिर्भरको कुल कारोबार ६१ लाख बढी

आत्मनिर्भरको कुल कारोबार ६१ लाख बढी

दैलेख : जिल्लाको आत्मनिर्भर लद्यु उद्यम कृषि सहकारी संस्था लिमिटेडको कारोबार ६१ लाखभन्दा बढि पुगेको छ । नारायण नगरपालिका–१ को उक्त सहकारी संस्थाको कुल कारोबार ६१ लाख ६१ हजार ७ सय ३६ रुपैयाँ पुगेको छ । सहकारी संस्थाको सातौँ साधारण सभामा अध्यक्ष टिकादेवी जैसीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमा सहकारीको स्थिर सम्पती एक लाख ३१ हजार रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिवेदनमा सहकारीले जायजेथा आर्जन गरी ६१ लाख ६१ हजार ७ सय ३६ रुपैयाँ कुल कारोबार गर्न सफल भएको उल्लेख छ । तीन सय ११ जना शेयर सदस्य रहेको सहकारीमा २ जना दलित, ३ जना जनजाती र ५ जना गरी ११ जनाको महिला शेयर सदस्यहरुको मात्रै सञ्चालक समिति छ ।

सहकारी र कृषि क्षेत्र विकास कार्यक्रमको सह–लगानीमा सञ्चालित बेमौषमी तरकारी उत्पादन उप–आयोजनाका लागि १४ लाख ४५ हजार रुपैयाँ सम्झौता भएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमबाट सहलगानी ७ लाख ३५ हजार र सहकारीको सह लगानी ७ लाख १० हजार मध्ये ३ लाख ५५ हजार, जिन्सी ३ लाख ५५ हजार बाट असार मसान्तसम्म कार्यक्रमबाट आएको बजेट ४ लाख ३१ हजार रुपैयाँ बाट नारायण नगरपालिका–३ कालिमाटीमा बेमौषमी तरकारी उत्पादन उपआयोजना सञ्चालित छ ।

कृषि क्षेत्र विकास कार्यक्रममार्फत सहकारीले नारायण नगरपालिका–३ खुर्सानीबारीस्थित जागरण ताजा तरकारी कृषक समुह र नारायण नगरपालिका–५ स्थित भैरब स्थान कृषि तथा पशुपालन कृषक समुहलाई सहजिकरण गरिरहेको सहकारीले जनाएको छ । उक्त कार्यक्रम अन्तरगर्त नारायण नगरपालिका–३ कालिमाटी र खुर्सानीबारी तथा वडा नं. ५ छातिकोटमा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा सञ्चालन गरिरहेको छ । सहकारीका अनुसार कृषि कर्जा ब्याज अनुदानमा कृषकहरुको पहुँच पु¥याउनका लागि युवा तथा साना व्यवसायिक कोषसँग थप कर्जा माग गरी स्वीकृत भई सम्झौता प्रक्रियामा रहेको जनाएको छ ।

सहकारीले जिल्ला लद्यु उद्यमी संघ डिमेगा दैलेखसँग संयुक्त आयोजनामा दैलेखम सौगात गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । शेयर सदस्यहरुलाई सामुहिक बचत गर्ने कार्यको सुरुवात समेत गरेको सहकारीले जनाएको छ । अध्यक्ष जैसीद्धारा प्रस्तुत प्रतिवेदनमा सहकारी संस्थाले सदस्यहरुलाई बचत तथा ऋण लगानी गर्ने मात्र नभई महिला हिंसा, बाल विवाह, बाल श्रम, स्वच्छ खानेपानी तथा सरसफाई, मर्यादित महिनावारी, सुरक्षित मातृत्व र मासिक आयआर्जन सम्बन्धी छलफल तथा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उल्लेख छ ।

सहकारीका अध्यक्ष टिकादेवी जैसीको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, जिल्ला सहकारी संघ दैलेखका कार्यवहाक अध्यक्ष भुपेन्दबहादुर खड्का लगाएतले शुभकामना दिएको थिए । कार्यक्रममा नारायण नगरपालिका सामाजिक विकास शाखाका खमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल, सहकारीका शेयर सदस्यहरु लगाएत उपस्थिती थियो ।

प्रतिक्रिया