काँग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य रानालाई गृह जिल्लामा भव्य स्वागत तथा बधाई

काँग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य रानालाई गृह जिल्लामा भव्य स्वागत तथा बधाई

दैलेख : नेपाली काँग्रेसको हालै सम्पन्न १४ औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सीताकुमारी रानालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । केन्द्रीय सदस्यमा निर्वाचितपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा उनलाई विभिन्न स्थानमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।

नेपाल महिला संघ दैलेखको अध्यक्ष समेत रहेकी रानालाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको फिल्ड कार्यालय गुराँस गाउँपालिकामा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ । सोसेक नेपालको पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक समेत रहेकी रानालाई संस्थाको केन्द्रीय कार्यालय दैलेखमा आयोजित एक कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरुले स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।

यस्तै केन्द्रीय सदस्य रानालाई डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लसहितको उपस्थितीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ माथिल्लो डुङ्गेश्वरमै स्वागत तथा बधाई दिएका छन् । गृह जिल्ला आउने क्रममा डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले केन्द्रीय सदस्य रानालाई बधाई ज्ञापन कार्यक्रम आयोजना गरेका थिए ।

त्यसअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मुख्यमन्त्री जीवनबहादुर शाहीले स्वागतसँगै बधाई ज्ञापन गरेका थिए ।

स्वागत तथा बधाई ज्ञापन कार्यक्रमहरूमा केन्द्रीय सदस्य रानाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अमुल्य मतदान गर्ने र विभिन्न तह र तप्काबाट सहयोग गरि आदिवासी जनजाति महिलातर्फ केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्वाचित गराउनुहुने महाधिवेशन प्रतिनिधि, सहयोगी तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा २०७८ मंसिर २७ गते भएको निर्वाचनमा राना नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति सदस्य (आदीबासी जनजाती महिला) पदमा निर्वाचित भएकी थिइन् । आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिश्पर्धामा थिए ।

रानाले एक हजार ८ सय ३५ मतसहित जीत हात पारेकी हुन् । उनको जीतसँगै नेपाली काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य प्राप्त गरेको छ । उनि इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् ।

प्रतिक्रिया