दैलेखमा जोखिमयुक्त बालबालिका दुई हजार पाँच सय बढि

दैलेखमा जोखिमयुक्त बालबालिका दुई हजार पाँच सय बढि

दैलेख : कर्णाली प्रदेशमा १४ हजार भन्दा बढी जोखिमयुक्त बालबालिका रहेको पाइएको छ । कोभिड–१९ को समयमा कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले गरेको अध्ययन अनुसार कर्णालीका विभिन्न जिल्लामा गरी १४ हजार ५ सय ७ जना बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको पाइएको हो ।प्रदेशमा जोखिमयुक्त वातावरणका कुल १४ हजार ५ सय ७ जना बालबालिकामध्ये बालक सात हजार ७ सय ८ जना र बालिका छ हजार ७ सय ९९ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा किर्डाकका नवीन शाहीले सबै भन्दा धेरै जोखिमयुक्त बालबालिका सुर्खेतमा रहेको पाइएको बताए । सुर्खेतमा तीन हजार ३ सय ९६ जना अर्थात् २३ प्रतिशत बालबालिका जोखिमयुक्त वातावरणमा रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि दैलेखमा दुई हजार ७ सय १६ जना अर्थात् १९ प्रतिशत, रुकुम पश्चिममा एक हजार ९२४ जना अर्थात् १३ प्रतिशत बालबालिका उच्च जोखिममा छन् ।

उमेर समूह सबै भन्दा बढी ११ वर्षदेखि १५ वर्ष उमेरका जोखिमयुक्त छन् । यो उमेर समूहका सात हजार २७ जना जोखिमयुक्त छन् । त्यसपछि छ वर्षदेखि १० वर्ष उमेर समूहका चार हजार ७ सय १ जना, पाँच वर्षमुनिका एक हजार ४ सय ४५ जना र १६ वर्ष उमेरका एक हजार ३ सय ३४ जना जोखिमयुक्त अवस्थामा रहेको पाइएको शाहीले जानकारी दिए ।

यसै गरी जातिगत रूपमा सबै भन्दा धेरै क्षेत्री र दलित समुदायका बालबालिका जोखिमयुक्त रहेका छन् । क्षेत्री समुदायका छ हजार ३ सय ३५ जना, दलित समुदायका पाँच हजार १६४ जना छन् भने जनजाति समुदायका दुई हजार १ सय १७ जना, ब्राह्मण समुदायका ८ सय ८८ जना र मुस्लिम समुदायका तीन जना जो खिममा परेको पाईएको छ ।

प्रतिक्रिया