म जनताको सेवक हुँ : काँग्रेस केन्द्रीय सदस्य राना

म जनताको सेवक हुँ : काँग्रेस केन्द्रीय सदस्य राना

दैलेख : नेपाली काँगेसको केन्द्रीय सदस्य सीताकुमारी रानाले आफु जनताको सेवक भएको बताएकी छिन् । भैरबी गाउँपालिका वडा नं. २ स्थित नेपाली काँग्रेस वडा समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले भनिन् ‘म जनताको सेवक हुँ, सधै जनताको पक्षमा काम गर्छु ।’

खालीस्थित मस्टाथान चौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रानाले राजनीतिमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको बताइन् । ‘मैले कुनै व्यक्तिगत स्वार्थ लिएर राजनीति गरेको होइन, धन सम्पती कमाउने कुनै लोभ छैन्, उनले भनिन्, ‘जनताको सेवक हुँ, सधै जनताको पक्षमा काम गर्छु ।’

उनले कोरोना महामारीमा आफुले आफ्नो स्वाथ्यको प्रवाह नगरी दैलेखलगाएत अन्य जिल्लाको नागरीकको जीवन बचाउनका लागि स्वास्थ्य सामग्री वितरण लगाएतका काम गरेको समेत बताइन् । उनले जनताको पक्षमा काम गर्दा सबैलाई निरन्तर सल्लाह सुझाव दिईरहन समेत आग्रह गरेकी छिन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा २०७८ मंसिर २७ गते भएको निर्वाचनमा राना नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति सदस्य (आदीबासी जनजाती महिला) पदमा निर्वाचित भएकी थिइन् । आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिश्पर्धामा थिए ।

रानाले एक हजार ८ सय ३५ मतसहित जीत हात पारेकी हुन् । उनको जीतसँगै नेपाली काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य प्राप्त गरेको छ । उनि इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित पछि पहिलो पटक आफ्नै गाउँमा पुगेकी रानालाई स्थानीयले भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेस दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) समिति, गाउँपालिका तता वडा समितिका नेता तथा कार्यकर्ताहरुले उनलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्ने नेपाली काँग्रेसका नेताहरुले दैलेखबाट पहिलो पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा सीताकुमारी राना निर्वाचित भएसँगै गर्विलो इतिहास कायम भएको बताएका थिए ।

सोही अवसरमा देउडा खेल पनि खेलाइएको थियो । साथै देउडा खेल प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा सलिमन मिँयाको समुह प्रथम भएको छ । यस्तै बाजु विष्ट र चन्द्रा थापाको समुहले क्रमशः द्धितिय र तृतिय स्थान हासिल गरेका छन् । सोहि अबसरमा भैरबी गाउँपालिका वडा नं. २ खालीस्थित मस्टाथान चौरको प्रत्येक महिनाको १५ गते देउडा खेल लगाउने र हाट बजार समेत सञ्चालन गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया