सरकारी स्कुलको दुर्दशा

सरकारी स्कुलको दुर्दशा

बादल मडारिदा विद्यालय जाँदैनन् बालबालिका, खुला चौर र रुखको छहारी अक्षर चिन्ने थलो

भग्नावशेष बनेको जनता मावी (आधारभूत तह) । विद्यालयको चौरमा बरको रुखमुनी बसेर पढ्दै बालबालिका ।

दैलेख : झट्ट हेर्दा सुन्दर गाउँ । भौगोलिक रूपमा अत्यन्तै मिलेको बस्ती । त्यो गाउँ हो, चामुण्डाबिन्द्रासैनी नगरपालिका-५ स्थित बस्तेकोट । गाउँको बीचमा छ, सामुदायिक विद्यालय ।२०३८ मा स्थापित जनता माविको अवस्था भने दयनीय छ । विद्यालयका भौतिक संरचना अहिले भग्नावशेष बनेका छन् ।

यहाँका विद्यार्थीहरु त्रास बोकेर पढ्न बाध्य छन् । विद्यार्थीहरु विद्यालय जानुअघि एकपटक आकाशतिर हेर्छन् । आकाशमा बादल मडारिएको छ भने विद्यालय जाँदैनन् । यो नै यो विद्यालयका विद्यार्थीको दिनचर्या हो ।

२०७७ साउनमा अविरल वर्षाले पुरानो संरचना अर्थात्, पत्थरले छाएको छानो भत्कियो । उक्त छानो अहिलेसम्म मर्मतमा कसैले चाँसो दिएको छैन् । २०७८ भदौमा हावाहुरीले दोस्रो भवनको टिनको छानो उडाएपछि विद्यार्थीहरु झनै समस्यामा परेका छन् ।

विद्यालयको चौरमा रहेको बरको छहारी र खुल्ला चौर विद्यार्थीको लागि अक्षर चिन्ने थलो बनेको छ । विद्यालय आउँदा कतिखेर के हुन्छ भन्ने चिन्ता लाग्ने गरेको विद्यार्थी सन्तोष रेग्मीले बताए ।

‘कक्षा कोठामा बस्नुपर्यो भने कतिखेर भवन भत्किएर पुरिने हो की भन्ने डर लाग्छ, पढाइभन्दा पुरिने चिन्ताले पिरोल्छ,’ रेग्मीले भने, ‘स्कुल राम्रो भइदिएको भए हुन्थ्यो, भयरहित वातावरणमा पढ्न पाउने सपना छ, तर हामीले भनेर केहि हुँदैन्, चौरमै बसेर पढ्न बाध्य छौं।’

झण्डै २ सय ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा आधारभूत तह ५ कक्षासम्म पढाइ हुन्छ । विद्यालयको पाँचवटा कक्षा कोठामध्ये तीनवटा कोठा भत्किएका छन् । अहिले विद्यालयको आँगन नै विद्यार्थीका लागि कक्षा कोठा बनेको छ।

विद्यालयको यो अवस्थाले बालवालिकाकासँगै अविभावक पनि उत्तिकै चिन्तित छन् । ‘स्कुल गएका बालबच्चाको बारेमा नराम्रो खबर आउने होकी भन्ने चिन्ताले पिरोल्छ,’ अभिभावक जर्मा विकले भनिन् । बालबच्चाहरु घर फर्किएपछि मात्र ढुक्क हुने गरेको उनले बताइन् ।

विद्यालयका पूर्वविद्यार्थी समेत रहेका प्रधानाध्यापक जनक कार्कीले पठन पाठनमा समस्या भइरहेको बताउँछन् । विद्यालयमा भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा कसैले पनि प्रभावकारी चासो नदिएको उनले बताए ।

‘भवनहरु भत्किएका छन्, हावाहुरी चल्यो वा पानी पर्न थाल्यो भने विद्यालय बन्द गर्नुपर्छ, विद्यालयको यो अवस्थामा कुनै निकायबाट सहयोग पाएका छै्रनौँ,’ कार्कीले भने ।

स्कुलको भौतिक संरचना जिर्ण भएकै कारण विद्युत जडान गर्न नसकिएको प्रधानाध्यापक कार्कीले बताए । उनका अनुसार बत्ती नभएकै कारण प्रोजेक्टर, कम्प्युटरलगायतका विद्युतीय उपकरणहरु प्रयोगबिहीन बनेको छन् ।

भौतिक पूर्वाधार र सुविधाबाट हिसावले विद्यालयको अवस्था नाजुक रहेपनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नमा हानथाप हुने गरेको छ ।  चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद रेग्मीले विद्यालयमा राजनीति हावी भएको स्वीकार गरेका छन् ।

विद्यालयका पूर्वविद्यार्थी समेत रहेको वडाधयक्ष रेग्मी भन्छन्, ‘नगरपालिकाका मेयरले आफ्नो पार्टीको व्यक्तिलाई अध्यक्ष बनाउन दबाब दिनुहुन्छ, मेयरले आफ्नो पार्टीको व्यक्तिलाई अध्यक्ष नबनाए विद्यालयमा बजेट हाल्न नसकिने भन्नुभयो, मैले विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधारका लागि नगरपालिकामा लिखित निवेदन दिएको छु ।’ उक्त विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको वडाध्यक्ष रेग्मी दाबी गर्छन् ।

यता चामुण्डाविन्द्रासैनी नगरपालिका–६ कोहलपुरस्थित जनजागृति आधारभूत विद्यालयको अवस्था पनि जनता आधारभूत विद्यालय भन्दा कम छैन् । विद्यालयको निर्माणाधिन भवन अलपत्र छ । पुरानो भवनहरु खण्डहर र भग्नावशेष अवस्थामा पुगेका छन् । विद्यालयमा पानीको अभाव छैन्, तर विद्यार्थीको शरीरमा न सफा कपडा हुन्छ, न त विद्यालय पोशाक छ ।

भएका कक्षा कोठाहरु धुलाम्ये छन् । विद्यालयको मैदानमा पनि व्यवस्थित छैन। यसै नगरपालिका भित्रपर्ने शान्ति आधारभूत विद्यालयको अवस्था खण्डहर छ । विद्यालय क्षेत्र बालबालिका लागि असुरक्षित बनेको छ ।

यी तीनवटा विद्यालयमात्र होइन, यो नगरपालिकाका अधिकांश विद्यालयको अवस्था दयनीय छ । यहाँका बालबालिकाले गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित छन् । नगरपालिकाको पाश्र्वचित्रमा नगरक्षेत्रभित्र आधारभूत तहका ३९ र मावी तहका १३ विद्यालय छन् । २२ वटा सामुदायिक बाल विकास केन्द्र रहेको नगरमा एकवटा क्याम्पस र एकवटा प्राविधिक शिक्षालय रहेको पाश्र्वचित्रमा उल्लेख छ । नगरपालिका भित्रका अधिकांश विद्यालयमा भौतिक पूर्वाधार, शिक्षकलाई प्रयाप्त तालिम अभाव रहेको स्थानीय बताउँछन् । विद्यालय बालमैत्री, अपांगमैत्री, किशोरीमैत्री र सुरक्षित छैनन्।

प्रतिक्रिया