चौरमै पढ्छन बालबालिका

चौरमै पढ्छन बालबालिका


कक्षा कोठा अभावमा खुला चौरमा बसेर पढ्दै बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थी ।

दैलेख : कक्षा कोठा अभावमा जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानीस्थित बाल कल्याण नमुना आधारभूत विद्यालयका बालबालिका चौरमै बसेर पढ्न बाध्य छन् । विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र (इसिडी) देखि कक्षा ७ सम्म पढाई हुन्छ । चार वटा भवनका ८ वटा कोठा रहेको विद्यालयमा एउटा कक्षा खुल्ला चौरमै बसेर पढ्न बाध्य भएका हुन् । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिसीले कक्षा कोठा अभावमा एउटा कक्षालाई चौरमै राखेर पढाउनुपर्ने बाध्यता रहेको बताए ।

‘विद्यालयमा ८ वटा कोठा छन्, एउटा कोठामा कार्यालय र अन्य सामग्री राख्नका लागि प्रयोग गरिरहेका छौ,’ उनले भने ‘इसिडीसहित ६ वटा कक्षासम्मका विद्यार्थीलाई कोठा पुगेको छ, एउटा कक्षाका लागि कक्षा कोठा अभाव छ ।’ उनका अनुसार अधिकाँश समय कक्षा ५ का बालबालिका चौरमै बसेर पढिरहेका छन् भने कहिलेकाहीँ पालोपालो गरे विद्यार्थीलाई चौरमा पढाउने गरिएको छ ।

उक्त विद्यालयमा चालु शैक्षिक सत्रदेखि कक्षा ७ सम्म पठनपाठन हुनेगरी गाउँपालिकाले स्वीकृत दिएको प्रधानाध्यमपक बिसीले बताए । ‘गाउँपालिकाले स्वीकृत त दियो तर कक्षा कोठा अभावमा बालबालिकालाई चौरमै पढाएका छौ, आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म स्वीकृत आयो भने दुई वटा कक्षा चौरमै राखेर पढाउनुपर्ने अवस्था आउँछ,’ प्रधानाध्यापक बिसीले भने ।

विद्यालयमा एक सय ६२ जना बालबालिका अध्ययनरत छन् । भवन अभावमा खुला चौरमा बसेर पढ्न बाध्य भएको विद्यालयमा गठित बाल क्लबका अध्यक्ष गणेश विकले बताए । ‘अहिलेको चिसो मौषममा पनि खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यता छ, खुला चौरमा पढ्नु पर्दा विद्यार्थीहरुलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ,’ उनले भने ‘अझै कहिलेसम्म सास्ती भोग्नुपर्ने हो थाहा छैन् ?’ उनले विद्यार्थीहरुका लागि कक्षा कोठा व्यवस्थापन गरिदिन माग समेत गरेका छन् ।

विद्यालयमा अन्य पूर्वाधारहरु भने निर्माण गरिएका छन् । बालबालिकाहरुका लागि बालमैत्री धारा निर्माण गरिएको छ । बाल विकास केन्द्रमा बाल मैत्री बसाई, बालबालिकाहरुका लागि सिकाई सामग्रीहरु व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया