कहाँ हराउँछन् कर्णालीका बालबालिका ?

          |   प्रकाशित मितिः आइतवार, पुस १८, २०७८     ::: 142 पटक पढिएको   |  

 

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–११ की गोमा मल्लले छोरी क्याट्रिनालाई पढाउने रहर बोकेर करिब दुई वर्षअघि काठमाडौं पु¥याइन् । क्याट्र्रिना र आफ्नी छोरी सिर्जनालाई लिएर छिमेकी निर्मला मल्ल काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँस्थित शान्ति बाल योगाश्रम पुगिन् । २०७६ वैशाखमा डोल्पाका बुद्ध शाहीको सम्पर्कबाट उनीहरूले आफ्ना छोरीलाई काठमाडौं पठाए । तर काठमाडौंमा छोरीहरू शोषित हुँदै छन् भन्ने गोमा र निर्मलाले पत्तो पाएनन् ।

‘छोरीलाई उच्च शिक्षासम्म काठमाडौंमै पढाइदिन्छु भनेपछि म त खुसी भएँ,’ गोमाले भनिन्, ‘मेरो आर्थिक स्थिति पनि कमजोर भएका कारण उहाँले जे भन्नुहुन्छ त्यो मानेर छोरीलाई काठमाडौं पठाउन राजी भएँ ।’ उनीहरू दुवैले छोरी पठाएबापत शाहीलाई ११ हजार रुपैयाँ पनि दिए । उक्त योगाश्रममा बालबालिकालाई कस्तो शिक्षा दिइन्छ भन्नेबारे अन्जान निर्मलाले थप बुझ्ने कोसिस पनि गरिनन् र छोरीहरूलाई सोही आश्रममा छोडेर फर्किइन् ।

छोरीहरूलाई आश्रम छोडिसकेपछि गोमा र निर्मलाले चाहेका बेला उनीहरूसँग कुराकानी गर्न पाएनन् । ‘६ महिनाको बीचमा मैले छोरीसँग चारपटक मात्रै कुराकानी गरें,’ गोमाले भनिन्, ‘छोरीले कुराकानी गर्दा केही समस्या भएको जस्तो गर्दिनथिन्, सबै राम्रो छ भन्थिन् ।’

तर योगाश्रममा पुगेपछि क्याट्रिना र सिर्जनाको जीवन फेरिएको अभिभावकले थाहा पाएनन् । काठमाडौंमा अनेक रंगीन सपना बोकेर गएका यी छोरीहरूले किताब र कापी बोक्ने बेला घाँस र दाउराको भारी बोक्नुप¥यो । आमाको न्यानो काखमा मायाले हुर्किएका उनीहरू यातना र तिरस्कारबीच बाँच्नुपर्ने अवस्था आइलाग्यो । करिब एक वर्षपछि आश्रमको सत्यताबारे थाहा पाएपछि उनले आफ्नो छोरी त फिर्ता ल्याइन् तर छोरीको शारीरिक र मानसिक अवस्था भने निकै कमजोर भएको थियो ।

गत वर्ष हुम्लाको अदानचुली गाउँपालिका–५ का कुल टमटाले आफ्नो छोरालाई राम्रो पढाइदिने आस देखाएपछि आफन्तकै जिम्मामा काठमाडौं पठाए । तर उनले आफ्नो छोरामाथि शारीरिक शोषण भएको कुरा पत्तै पाएनन् । ‘हामीसँग कुरा पनि हुन दिएनन्,’ उनले भने, ‘राम्रो होस्टलमा बसालेर पढाइदिन्छु भनेपछि पठाइयो तर छोराले पेटभरि खान पनि नपाएको रहेछ ।’ उनका छोरासहित बालगृहमा रहेका विभिन्न जिल्लाका ११ जना जोखिम अवस्थाका बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका–११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएको थियो ।

५२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको कर्णालीमा विशेषगरी निम्न वर्गका अभिभावकलाई लोभ लालचमा पारेर आफन्तले नै बालबालिकालाई जोखिमपूर्ण काममा लगाइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा कर्णालीबाट ८ सय ५८ जना बालबालिका हराएका छन् । जसमध्ये ३ सय ८० बालक र ४ सय ७८ बालिका रहेको कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले बताए । उनका अनुसार हराएकामध्ये २ सय २२ जना बालक र २ सय ८१ जना बालिका गरी ५ सय ३ जना फेला परेका छन । विभिन्न जिल्लाबाट हराएका २ सय ८३ जना बालबालिकाको अवस्था अझै अज्ञात रहेको उनको भनाइ छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म मात्रै १ सय २५ जना बालबालिका हराएका छन । जसमध्ये २६ जनालाई मात्रै फेला पार्न सफल भएको एसएसपी श्रेष्ठले जानकारी दिए । गत वर्ष हुम्लाका सुनील भण्डारीलाई ४÷५ दिनसम्म होस्टलमा भोकै बसेको अनुभव छ । होस्टलमा बालबालिका लिन विदेशी आउँदा आफू बिरामी परेपछि ढोका थुनेर राखेको नमीठो भोगाइ पनि उनले भोगे । ‘विदेशी आउँदा तन्दुरुस्तलाई मात्र देखाइन्थ्यो,’ उनी भन्छन्, ‘कोही बिरामी भएपछि उनीहरूलाई कोठामा ताल्चा लगाएर थुन्थे ।’ राम्रो विद्यालयमा पढ्ने आस बोकेर काठमाडौं पुगेका उनलाई आफ्नै अंकल नाता पर्ने व्यक्तिले परिबन्दमा पारिदिए । उनले त्यहाँ पुगेर एक महिना मात्रै विद्यालय जान पाए तर कापी, कलम भने पाएनन् ।

केही महिनापछि भने विभिन्न संघसंस्था तथा अधिकारकर्मीहरूको पहलमा ती बालबालिका अभिभावकसम्म पुग्न सफल भए । गत वर्ष नवीन समाजले उनीहरूको उद्धार गरी पुनर्मिलन गराएपछि कसैको आसमा परेर काठमाडौं नजाने कसम हुम्लाकी निरुता भण्डारीले खाएकी छन । अध्ययन, रोजगारी र सुख सुविधाको प्रलोभनमा परेर कर्णालीका बालबालिका हराउने गरेको प्रदेश प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले बताए ।

राष्ट्रिय बाल परिषद्का प्रमुख मिलन धरेलले हराएका बालबालिका घरेलु मजदुर, वेश्यावृत्ति, सर्कस र अंग ट्रान्सप्लान्टमा समेत प्रयोग भएको पाइएको बताए । यीमध्ये अधिकांश सीमापार पुगेको र केही भने मुलुकभित्रै पनि रहेका उनको भनाइ छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले फेला नपरेका बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेको हुन सक्ने बताए । ‘मुलुकभर दैनिक बालबालिका हराइरहेको घटना हामीकहाँ दर्ता हुन्छन्, प्रहरीले खोजी गर्छ,’ उनले भने, ‘केही फेला पर्छन्, केही पर्दैनन् ।’ खुला सीमाका कारण बालबालिका बेचबिखनमा पर्ने उनी बताउँछन् । चाँदनी कठायत/कान्तिपुर



Leave a comment

Your email address will not be published.


*