गाउँमै ईन्टरलक इट्टा उद्योग, विपन्नलाई रोजगारी

गाउँमै ईन्टरलक इट्टा उद्योग, विपन्नलाई रोजगारी


शुभलक्ष्मी ईन्टरलक इट्टा उद्योगमा काम गर्दै मजदुर

दैलेख : दुल्लु नगरपालिका–७ की डम्बर कुमारी खड्का र उनका पति नगेन्द्रबहादुर खड्काले उद्योगमा आधारित व्यवसाय गर्ने सोच बनाएँ । व्यवसाय गर्ने योजना बनाएपनि कुन व्यवसाय गर्ने भन्नेमा खड्का दम्पतीले केहिसमय अन्यौलमै बिताए । अन्ततः व्यवसाय सुरु गर्न उनिहरुले युट्युवको साहारा लिए ।

युट्युवमार्फत उनिहरुले ईन्टरलक इट्टा उत्पादनबारे केहि जानकारी पाएँ । ईन्टरलक इट्टा नै वातावरण मैत्री हुन्छ भन्ने लागेर उनिहरुले उद्योगका लागि मेसिन खोज्न सुरु गरे । उद्योग सुरु गर्न डम्बरकुमारीले आफुसँग भएको गरगहना बैंकमा राखेर ऋण निकालिन् । २०७४ जेठमा झण्डै पाँच लाख लागतमा मेसिन गाउँमै आईपुग्यो । ‘उद्योग सञ्चालनका लागि आफ्नो नाममा पर्याप्त जग्गा थिएन, जग्गा भाडामा लिएर उद्योग सुरु ग¥यौँ,’ डम्बरकुमारीले भनिन् । उद्योग सुरु भएको एकबर्षपछि आफ्नै जग्गामा स्थापना गरेको उनले बताइन् ।

 उद्योगमा उत्पादित इट्टा ।

दुल्लु नगरपालिका–४ बाडातडीस्थित सञ्चालित खड्का दम्पतीको शुभलक्ष्मी ईन्टरलक इट्टा उद्योग अहिले फस्टाउँदो छ । ‘सुरुमा ईन्टरलक इट्टाबारे आम नागरिकलाई बुझाउँन र विश्वास दिलाउँनै गाह्रो प¥यो, कतिपयले त यो इट्टा कमजोर हुन्छ भन्दै विश्वासै गरेनन्, इट्टामाथी गाडी चढाएर बलियो छ या छैन भन्दै परिक्षण समेत गरे, नयाँ व्यवसाय गर्न गाह्रै हुँदो रहेछ, हामीलाई पनि हम्मे हम्मे प¥यो’ डम्बरकुमारी भन्छिन् ‘अहिले ईन्टरलक इट्टाले राम्रो बजार पाएको छ ।’ एउटा मेसिनबाट मात्रै उद्योग सुरु गर्दा ८ जनाले गाउँमै रोजगारी पाएका थिए ।

हाल उद्योगमा दुई वटा मेसिन छ । नयाँ मेसिन खरिद गर्नका लागि उत्थान परियोजनाले सहयोग गरेको डम्बरकुमारीले बताइन् । ‘परियोजनाले नयाँ मेसिन किन्न सहयोग गरेपछि इट्टा उत्पादनमा सहज भएको छ,’ उनले भनिन् ‘गाउँमै रोजगारी पाउनेको संख्या पनि बढेको छ ।’ दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

ईन्टरलक इट्टा उद्योगको अनुगमनमा पुगेको सोसेक नेपालको अनुगमन समिति ।

दुई वटा मेसिन भएपछि अहिले उक्त उद्योगमा स्थानीय विपन्न परिवारका १३ जनाले रोजगारी पाएका छन् । दुई वटा मेसिनबाट दैनिक १६ सय इट्टा उत्पादन हुने गरेको नगेन्द्रबहादुरले बताए । उद्योगबाट प्रति इट्टा ७० रुपैयाँका दरले बिक्री भईरहेको उनले बताए । उनका अनुसार पछिल्लो समय ईन्टरलक इट्टाबाट घर निर्माण गर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएपछि माग पनि बढ्दै गएको छ । नयाँ प्रविधिबाट उत्पादित ईन्टरलक इट्टाबाट बनेको घर बलियो, वातावरण मैत्री तथा भुकम्प प्रतिरोधी हुने उनको दाबी छ ।

‘हाम्रो उद्योगमा उत्पादित ईन्टरलक इट्टाबाट जिल्लाका विभिन्न स्थानमा सरकारी भवन देनि नीजि घर र विद्यालय भवनहरु बनेका छन्, उद्योगमा विपन्न परिवारका महिला र पुरूषहरूले रोजगारी पाउनुभएको छ, हामी त्यसैमा खुसी छौँ,’ नगेन्द्रबहादुरले भने ।

प्रतिक्रिया