कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ : नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (केन्द्रीय कार्यालयका मुख्य सचिव), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (बाँके), कर्णालीमा दुर्गाकुमारी गुरुङ (सुर्खेत) र सुदूरपश्चिममा नारायणदत्त मिश्र (कन्चनपुर) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको विधानमा संघीय सांसद उम्मेदवारको निर्णय संसदीय समितिले गर्ने उल्लेख भए पनि समिति गठन नभएकोले केन्द्रीय कार्य समितिबाट उम्मेदवारको टुंगो लगाएको हो ।

सभापति देउवाले विधानत: संसदीय समितिबाट निर्णय गर्नुपर्ने भए पनि उक्त समिति नबनेको भन्दै नाम प्रस्ताव गरेका थिए । प्रस्तुत नाममा बैठकले सर्वसम्मत निर्णय गरेको खतिवडाले बताए ।

केन्द्रीय कार्यसमितिको दोस्रो बैठकको निर्णयहरू

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ पौष १९ मा बसेको यो बैठक राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०७८ साल माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट,
प्रदेश नं. १ मा — गोपालकुमार बस्नेत
बागमती प्रदेशमा— कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेशमा— कमला पन्त
कर्णाली प्रदेशमा— दुर्गाकुमारी गुरुङ
लुम्बिनी प्रदेशमा— युवराज शर्मा
सुदूरपश्चिम प्रदेशमा— नारायण मिश्र
लाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गर्दछ ।

(२) माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय कार्यसमितिको यो बैठक सबै आदरणीय मतदाताहरुलाई हार्दिक आह्वान गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया