नेताहरु सुध्रिनु पर्छ : केन्द्रीय सदस्य राना (भीडियो सहित)

नेताहरु सुध्रिनु पर्छ : केन्द्रीय सदस्य राना (भीडियो सहित)

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले निजामती कर्मचारीहरुले विकास निर्माणका कामदेखि जनतालाई सेवा प्रवाह गर्ने सवालमा महत्वपूर्ण काम गरेको बताएकी छिन् । शनिवार नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रानाले कर्मचारीहरुले राष्ट्र निर्माणमा गरेको योगदानको प्रशंसा गरिन् ।

उनले राम्रो काम गर्दा गर्दै राजनीतिक आस्थाकै भरमा नेताहरुकै संलग्नतामा कर्मचारीहरुलाई पूर्व र पश्चिम सरुवा गर्ने प्रवृति अन्त्य हुनुपर्ने बताइन् । ‘कर्मचारीहरुले विकास निर्माण देखि जनतालाई प्रवाह गर्ने सेवा प्रदान गर्ने सन्दर्भमा राम्रो काम गर्दा गर्दै पनि राजनीतिक आस्थाकै आधारमा सरुवा गर्ने प्रवृति अन्त्य हुनुपर्छ,’ उनले भनिन् ‘कर्मचारी सरुवा गर्ने गतिविधिमा नेताहरु संलग्न हुनु राम्रो होइन्, यसमा नेताहरु पनि सुध्रिनु पर्छ ।’

कानूनी रुपमा गर्न नमिल्ने काम जसरी पनि हुनुपर्ने भन्दै कर्मचारीहरुलाई नेताहरुले दबाब दिने प्रवृतिको अन्त्य हुनुपर्ने केन्द्रीय सदस्य रानाको भनाई छ । मुलुकमा नयाँ संरचना निर्माण भईसकेपपिछि स्थानीय तह तथा प्रदेश तहमा निर्माण हुनुपर्ने ऐन नियम र कानूनहरु नबन्दा काम गर्न असहज भएको गुनासो कर्मचारीहरुबाट आईरहेको बताउँदै केन्द्रीय सदस्य रानाले त्यस्ता समस्या समाधान गर्न आफुले सक्दो पहल गर्ने बताइन् । अर्को प्रसंगमा उनले आफु दैलेख जिल्लाको विकास र समृद्ध जिल्ला निर्माणदेखि समग्र देशको विकासमा प्रतिबद्ध रहेर देश र जनताको पक्षमा काम गर्ने बताइन् ।

हेर्नुहोस् भीडियो

नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति दैलेखका अध्यक्ष तुलसी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई संविधान सभा सदस्य तथा पूर्व स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्का, नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी लगाएतले सम्बोधन गरेका थिए ।

अधिवेशनमा कर्मचारी यूनियनका पूर्व अध्यक्ष लगाएतका कर्मचारीहरु सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी यूनियनका पूर्वअध्यक्षहरु लालबहादुर थापा, हरिबहादुर क्षेत्री, देवेन्द्र थापा, दलबहादुर खत्री, ढालबहादुर हमाल र खगेन्द्र भण्डारीलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी राना, संविधान सभा सदस्य तथा पूर्व स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्का, नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी लगाएतले सम्मान गरेका छन् ।

यस्तै ईन्जिनियर हीरासिंह थापा सम्मानित भएका छन् । संस्थागत सुदृढिकरणमा पु¥याएको योगदानको कदर गर्दै ईन्जिनियर थापालाई सम्मान गरिएको कर्मचारी यूनियनले जनाएको छ । कर्मचारी यूनियनले अधिवेशनका अबसरमा नगद रु पाँच हजार रुपैयाँ सहित मरणोपरान्त सम्मान समेत प्रदान गरेको छ । उक्त सम्मान स्वर्गीय धर्मराज जैसीका धर्मपत्नि सीता शर्मा, स्वर्गीय देवबहादुर नेपालीको धर्मपत्नि गगन नेपाली, स्वर्गीय डिलबहादुर थापाका धर्मपत्नि देवु थापा र स्वर्गीय बद्रिप्रसाद शर्माका धर्मपत्नि भद्रादेवी शर्मालाई प्रदान गरिएको हो ।

प्रतिक्रिया