‘काठको परम्परागत घर बनाईदिए बस्छौँ’

‘काठको परम्परागत घर बनाईदिए बस्छौँ’

दैलेख : लोपोन्मुख जाती राउटे समुदाय कंक्रिट संरचनाका बाहेक परम्परागत रुपमा निर्माण गरिने काठको घरमा बस्न तयार भएका छन् । कर्णालीका दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लाका जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदाय सरकारले काठको मात्रै प्रयोग गरेर घर बनाईदिए आफुहरु बस्न तयार भएका हुन् । एकै ठाउँमा नबस्ने, खेतीपाती तथा लेखपढ नगर्ने यो समुदाय पछिल्लो समय मानव बस्ती नजिकको खाली ठाउँमा कपडाको पालका छाप्रा बनाएर बस्ने गरेको छ ।

घर बनाउने विषयमा छलफल गर्न शहरी विकास मन्त्री रामकुमारी झाक्रीसहितको सरकारी टोली सुर्खेतको सिम्ता गाउँपालिकास्थित भेरी किनार नजिकै बसोबास गर्दै आएका राउटे समुदायमा पुगेको थियो । छलफलका क्रममा राउटे अगुवा तथा मुखियाहरुले काठको परम्परागत घर बनाइदिए आफूहरू बस्न तयार रहेको बताए । राउटे महामुखिया महिनबहादुर शाहीले सरकारले काठका घर बनाइदिए आफूहरू बस्न तयार रहेको बताए । ‘पहिले–पहिले काठकै छाप्रो बनाएर बस्थ्यौं, पाल त भर्खर चलनमा आएको हो,’ उनले भने, ‘काठ मात्रैको घर बनाइदिए बस्न गाह्रो छैन् ।’ आफूहरूका लागि बनाइने घर स्थायी नहुने महिनबहादुरले बताए ।

‘हाम्रो बस्तीको कोही म¥यो भने त्यहाँ १० वर्षसम्म फर्किन मिल्दैन, मान्छेको मृत्यु हुन वित्तिकै बस्ती छाडेर जानुपर्छ,’ उनले भने, ‘त्यसैले काठैकाठको घर, छाडेर जाँदा भत्काउन मिल्ने घर बनाउनुभयो भने हामी बसौंला ।’ उनले आफ्नो समुदाय पहिलेभन्दा धेरै परिवर्तन भइसकेको बताए । राउटे मुखिया सुर्यनारायण शाहीले एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने घर बनाइदिन मन्त्री झाँक्रीसहित सरकारी टोलीसँग आग्रह गरे ।

‘हामी एकै ठाउँमा बस्दैनौं, कोही मर्ने बित्तिकै सरिहाल्नुपर्छ,’ उनले भने, ‘जसरी हामी धुरी बोकेर लिन्छौं, त्यसैगरी बोक्न मिल्ने घर बनाइदिए सजिलो हुन्थ्यो ।’ सुर्यनारायणले आफूहरूको परम्परागत मान्यता र संस्कृतिका कारण अरू समुदायको जस्तै पक्की (कंक्रिट) घरमा बस्न नमिल्ने बताए । ‘त्यसैले ढुंगा, सिमेन्ट बाहेकको अरू घर निर्माण गरिदिए हामी बसौंला,’ उनले भने, ‘एकै पटक पक्की घरमा सम्भावना छैन् ।’

सहरी विकासमन्त्री झाँक्रीले राउटे समुदाय सरकारले बनाइदिने घरमा बस्न राजी भएको बताइन् । तर कस्तो डिजाइन र प्रकृतिको घर बनाउने भन्ने विषयमा राउटे समुदायसँगै थप छलफल गरिने उनले बताइन् । ‘राउटे समुदाय परिवर्तन उन्मुख छ,’ उनले भनिन्, ‘उनीहरूको धर्म, संस्कृति र मान्यताको प्रतिकुल नहुने गरेर घर निर्माण गरेर सरकारले हस्तान्तरण गर्छ ।’ मन्त्री झाँक्रीले राउटे करिडोरभित्रका तीनदेखि चार ठाउँमा घर निर्माण गरेर बसाल्न सकिने विकल्प पनि रहेको बताइन् । राउटे समुदायसँग थप छलफल गरेर घरको डिजाइन तयार गरेर कार्यान्वयनमा जाने बताइन् ।

शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले राउटे समुदायसँगै बसेर प्राविधिक विश्लेषणसहित घरको आकार र डिजाइने गरिने बताए । ‘घर बनाउने र त्यसमा राउटे समुदाय बस्ने भन्ने सहमति भएको छ,’ उनले भने, ‘अब कस्तो प्रकृतिको घर बनाउने, घरमा कस्ताकस्ता सामग्रीहरू प्रयोग गर्ने भन्ने विषयमा राउटे समुदायसँग बसेर डिजाइन तयार गर्ने र सो अनुसार घर निर्माण सुरु हुन्छ ।’ सरकारले राउटे समुदायको आवास निर्माणका लागि चालु आर्थिक बर्षमा दुई करोड रूपैयाँ विनियोजन गरेको छ । स्रोत नागरिक दैनिक

प्रतिक्रिया