प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। सबै पार्टीका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब छिट्टै सरकार विस्तार गरिने उनले बताए।  नेपाल प्रेस युनियन सल्यानले खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको दाबी गरे।

मन्त्रिपरिषद् विस्तारमा गठबन्धन बिचमा भागबण्डा​का कारण ढिलाइ भएको भन्ने छ भन्ने प्रश्नमा मुख्यमन्त्री शाहीले सत्ता गठबन्धनबिच मन्त्रालयको भागबण्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको दाबी गर्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको दाबी गरे। कर्णाली प्रदेशलाई समृद्ध बनाउन ‘६ ब’ लागू गर्नैपर्ने बताए। कर्णाली प्रदेशले सुनको थालीमा भिख मागिरहेको बताउँदै उनले ‘६ ब’लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दावी गरे।

‘६ क’ अन्तर्गत बाटो, बिजुली, विचार (सूचना प्रविधि) वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने बताए। आफ्नो नेतृत्वको सरकार क्रमभंगको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने बताए। उनले भने‚ ‘आफू मुख्यमन्त्री भएपछि ठूलै काम गर्छु केही भन्दिनँ। गठबन्धनको सरकार हो। राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा काम सच्याएर अघि बढ्छौँ। जनताका दैनिक जनजीविकासँग सम्बन्धित कार्यलाई आफूले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ।’

प्रतिक्रिया