पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ : काँग्रेस केन्द्रीय सदस्य राना

दैलेख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएकी छिन् । नेपाली काँग्रेस दैलेखले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा केन्द्रीय सदस्य रानाले यस्तो बताएकी हुन् । नेपाली काँग्रेस दैलेखको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले पार्टी एकताबद्ध भएमा कसैले हराउन नसक्ने दाबी गरिन् ।
हालै सम्पन्न महाधिवेशन अन्तरगर्त भएको पार्टीको आन्तरिक निर्वाचनमा जित हारपछि पनि जित्ने मात्तिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उनले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताइन् । उनले स्थानीय तह लगाएतका निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औल्याईन् ।
‘देशलाई नेपाली काँग्रेसको खाँचो छ, सोहि अनुसार देशको समग्र विकास र जनताको जीवनस्तर उकास्ने जिम्मेवारी पनि काँग्रेसकै हो,’ उनले भनिन् । उनले नेपाली काँग्रेस पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनहरुमआ विजयी हासिल गर्नुपर्ने बताइन् ।
उनले पार्टीलाई एकताबद्ध बनाएरमात्रै दैलेखका सबै स्थानीय तह, चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र र दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्रमा जीत हासिल गर्न सकिने बताइन् । केन्द्रीय सदस्य रानाले आफुलाई दैलेखको इतिहासमा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् । नेपाली काँग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
केन्दीय सदस्य रानालाई नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी, उपसभापति प्रकाश पौडेल, अन्य पदाधिकारी तथा सदस्य र नेपाली काँग्रेसका जिल्ला स्तरिय नेता कार्यकर्ताहरुले दोसल्ला र पुष्पगुच्छासहित स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।
प्रतिक्रिया