एमाले दैलेख अधिवेशन : प्रतिनीधि संंख्या भन्दा २७ मत बढि खसेपछि….

एमाले दैलेख अधिवेशन : प्रतिनीधि संंख्या भन्दा २७ मत बढि खसेपछि….


दैलेख : गत शुक्रवार अर्थात पुस २३ गते नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन भयो । सोहि दिन बन्दसत्र नै सुरु नगरी स्थगित भएको अधिवेशन शनिवार मात्रै बन्दसत्र सकियो । त्यसपछि एमाले दैलेखको जिल्ला नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास थालियो । सर्वसम्मतीको सबै प्रयासहरु असफल भएपछि आइतवारबाट निर्वाचन पक्रिया थालियो । निर्वाचन पक्रिया सोमवार मात्रै सकियो । सोमवार निर्वाचन पक्रिया, मतपत्र छपाई लगाएतका काम सकिएको थियो ।

मंगलवार विहान साढे ९ बजेबाट सुरु भएको मतदान साँझ झण्डै पाँच बजे सकियो । मतदान सकिएसँगै मुचुल्का उठाउँदा एमालेको नयाँ नेतृत्व चयनका लागि ७ सय १७ मत खसेको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिए । मतदान सकिएको झण्डै दुई घण्टापछि दैलेख सदरमुकामस्थित गणेश चोकको योग भवनमा मतगणना सुरु भयो । मत गणना सुरु गर्दा मत पेटिका खोलियो ।

मत पेटिका खोलेर एमाले अध्यक्ष समित पदाधिकारी चयनका लागि खसेको मत गणनाका लागि मत पेटिकामा भएका सबै मत गन्दा ७ सय ४८ मत भेटियो । लगत्तै एमाले अधिवेशन प्रतिनीधि (मतदाता) भन्दा २७ मत कसरी बढि भयो भन्नेबारे चर्चा सुरु भयो ।

नेकपा एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा एमाले अधिवेशन प्रतिनीधि (मतदाता) भन्दा २७ मत बढि खसेको छ । एमालेको अधिवेशनका लागि जिल्लाभरबाट ७ सय २१ जना प्रतिनीभि चयन भएका थिए ।पदाधिकारीका लागि खसेको मत एमाले प्रतिनीधि भन्दा २७ मत बढि हो । यस्तै मुचुल्का उठाउँदा खसेको भनिएको ७ सय १७ मत भन्दा ३१ बढि मत पदाधिकारी चयनका लागि थापिएको मत पेटिकामा भेटिएको हो ।

एमाले प्रतिनीधि भन्दा २७ र मुचुल्का उठाउँदा भनिएको मत भन्दा ३१ मत मतपेटिकामा भेटिएपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको छ । एमाले अधिवेशनको अध्यक्ष मण्डलले मतदान नै बदर गर्ने निणर्य गरेको हो । । एमाले पोलिट्ब्युरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज समेत रहेका अध्यक्ष मण्डलका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलले मतदान बदर गरिएको बताए ।

अध्यक्ष मण्डलका सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाहले अहिलेलाई निर्वाचन प्रक्रिया नै बदर गरिएको बताए । उनले अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी र जिल्ला कमिटि सदस्यहरुको हकमा सकेसम्म निर्विरोध निर्वाचित भएकाहरुको पद नजाने बताए । ‘सकेसम्म निर्विरोध निर्वाचित हुनु भएका पदाधिकारी र सदस्यहरुको हकमा पद नजाने गरी हामी निणर्यमा पुग्छौँ,’ उनले भने ‘मतदानमा प्रतिनीधि भन्दा पनि बढि मत खसेको विषयमा पार्टीले अनुसन्धान गर्छ ।’

यता एमालेका नेता तथा कार्यकर्ताहरुले भने निर्वाचन कमिटिको दोष देखाएको छ । एमालेका युवा नेता जीवन शाहीले निर्वाचन कमिटिलाई कारबाही गर्नुपर्ने बताए । निर्वाचन कमिटिको कमजोरीका कारण एमाले प्रतिनीधि भन्दा पनि बढि मत खस्न पुगेको उनको दाबी छ ।

एमाले दैलेखको अध्यक्षका लागि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीको उम्मेदवारी थियो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका थिए । यस्तै सचिवमा रुद्ध शाही र तिलकप्रसाद रिजालको उम्मेदवारी थियो ।

प्रतिक्रिया