काप्रीखोला र आरुपाटे गाउँमा खानेपानीको सुविधा पु¥याइँदै

काप्रीखोला र आरुपाटे गाउँमा खानेपानीको सुविधा पु¥याइँदै

खानेपानी तथा सरसफाई योजनाको अनुगमन

दैलेख : महाबु गाउँपालिका–४ मा सञ्चालित उत्तिसेनी काप्रीखोला आरुपाटे खानेपानी तथा सरसफाई योजनाको अनुगमन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा, पत्रकार तथा प्राविधिक सहितको टोलीले निर्माणाधिन अवस्थामा रहेको उक्त योजनाको स्थलगत अनुगमन गरेको हो ।

उक्त योजना हेल्भेटास नेपाल/एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र महाबु गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा सञ्चालमा ल्याईएको हो । उक्त योजनाबाट काप्रीखोला र आरुपाटे गाउँका २१ घरधुरीमा शुद्ध खानेपानीको सुविधा पुग्नेछ । योजनामार्फत २१ घरमा धारा निर्माण हुने एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक महेन्द्र अधिकारीले बताए । उनका अनुसार उक्त योजनाको लागत १६ लाख रहेको छ ।

कार्यक्रमका प्राविधिक सहजकर्ता डिलबहादुर गिरीका अनुसार खानेपानी योजना अन्तरगर्त दुई वटा इन्टेक, दुई वटा पानी रिजर्ब ट्यांकी, ४ वटा पानी वितरण चेम्बर निर्माणाधिन अवस्थामा छन् । बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका काप्रीखोला र आरुपाटे गाउँका हरेक घरमा खानेपानीको धारा जडान हुनेभएपछि स्थानीय खुसी भएका छन् ।

‘गाउँमा खानेपानी असाध्यै समस्या थियो, पाइप मार्फत पानी ल्याएर गुजारा गरिरहेका थियौँ,’ योजना समितिका अध्यक्ष लोकबहादुर शाहीले भने ‘अब खानेपानीकै लागि पाईरहेको दुःख सधैका लागि अन्त्य हुनेछ ।’ उनले योजनालाई दिगो र गुणस्तरिय बनाउने गरी गाउँका सबै घरधुरी एकजुटभई काम गरिरहेको बताए ।

 

प्रतिक्रिया