पशु बिमाप्रति कृषकको आकर्षण बढ्दै, दुल्लुका साढे ४ सय पशुको बिमा

पशु बिमाप्रति कृषकको आकर्षण बढ्दै, दुल्लुका साढे ४ सय पशुको बिमा

दैलेख : व्यावसायिक रुपमा बाख्रा, भैसी र गाईपालन गरिरहेका दैलेखका कृषक पशु बिमाप्रति आकर्षित बन्दै गएका छन् । हालैमात्र जिल्लाको दुल्लु नगरपालिकाका ७३ पशु पालक कृषकले पशु बिमा गराएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोगमा कृषकहरुले पालन गरिरहेको पशुको बिमा गरिएको हो । नगर भित्रका ७३ जना पशुपालक कृषकले पालेको झण्डे साढे चार सय पशुको बिमा गरिएको छ । ३ सय ७० बाख्रा, ३७ भैसी र ३४ गाईको बिमा गरिसकिएको बताईएको छ । बिमाका लागि एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनीधि कृषकको घर–घरमा पुगेका थिए ।

सोसेक नेपालले दुल्लु नगरपालिकासँग समन्वय गरेर एभरेस्ट इन्स्योरेन्स कम्पनीमार्फत पशुपालक कृषकले पालेको बाख्रा, भैसी र गाईको बिमा गरिएको हो । दुल्लुमा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

पशुको बिमा गर्दा बिमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्क परियोजनाले बेहोरेको सोसेक नेपालका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । व्यवसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षति कम गर्न कृषकहरुको पशु बिमा कार्यक्रममा समावेश गरिएको श्रेष्ठले बताए । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा प्रभावकारी हुने श्रेष्ठको भनाई छ ।

पशु बिमा गर्नु अघि कृषकहरुलाई पशु बिमाको फाइदाबारे जानकारी गराउने गरिएको छ । पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । सोसेकको उत्थान परियोजनामार्फत दुल्लु नगरपालिकाको समन्वयमा नगरपालिका स्तरमा बिमा डेक्स समेत स्थापना गरिएको बताईएको छ ।

प्रतिक्रिया