बस्ती सरे राउटे

बस्ती सरे राउटे

यस पटक बस्ती सर्दा राउटे समुदायका ४१ परिवारले प्रति परिवार ६ सय रुपैयाँ उठाएर ट्याक्टर रिजर्ब गरी सरसामान सारेका थिए ।

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय बस्ती सरेका छन् । सुर्खेतको सिम्ता गाउँपालिका–४ कालेखोलामा बसोबास गर्दै आएका राउटे मंगलवार सम्ता गाउँपालिका–३ बाखर्कमा बस्ती सरेका हुन् । ४१ परिवारमा १ सय ४४ जना जनसंख्या रहेको लोपोन्मुख राउटे समुदायका सबै परिवार बाखर्कमा बस्ती सरेका हुन् । मंसिर ९ गतेदेखि कालेखोलामा बसोबास गर्दै आएका उनिहरु दुई महिना ९ दिनपछि बस्ती सरेको राउटे परियोजनाबाट बस्तीमा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।

उनिहरुले गत शुक्रवार ट्याक्टर मार्फत सामग्रीहरु कालेखोलाबाट बाखर्कमा सारिसकेका थिए । यस अघि सरकारी तथा गैरसरकारी निकायको सहयोगमा बस तथा ट्याक्टर रिजर्ब गरेर सरसामान सार्नुका साथै बस्ती सर्ने गरेका राउटे यस पटक भने समुदायका सबै परिवारले रकम संकलन गरेर ट्याक्टर रिजर्ब गरेर सरसामान सारेका थिए । ४१ परिवारले ६ सय रुपैयाँका दरले रकम उठाएर ट्याक्टर रिजर्ब गरेर सबै परिवारको सरसामान सारेको राउटे मुखिया सुर्यनारायण शाहीले बताए ।

कर्णालीका दैलेख, सुर्खेत तथा सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायमा राउटे परियोजना सञ्चालित छ । एईआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत परियोजना सञ्चालनमा रहेको परियोजनाले राउटे समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । राउटे समुदायका नागरिकहरुको अधिकार सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजनामार्फत जोडि शिक्षक र एक जना स्वास्थ्यकर्मी (अहेव) खटाईएको छ ।

प्रतिक्रिया