हीमबहादुर शाही : प्रधानाध्यापकदेखि मन्त्रीसम्म

दैलेख : पाँच दशक अधि प्रधानाध्यापकको रुपमा शिक्षण पेशामा संलग्न हीमबहादुर शाही कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको मन्त्री परिषद् विस्तारमा शाहीले कानून मन्त्रीको जिम्मेवारी पाएका हुन् । दैलेख क्षेत्र नं. २ प्रदेश सभा क्षेत्र नं. ख बाट कर्णाली प्रदेश सभामा समानुपातिक सांसद बनेका शाहीलाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ खुवाएका छन् । नवनियुक्त मन्त्री नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दल सचेतक समेत हुन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–४ तिलुखानामा जन्मिएका शाही २०२९ सालमा तोलीजैसी प्राविको प्रधानाध्यापकको रुपमा शिक्षण पेशामा थिए । २००४ भदौ २६ गते पिता मानबहादुर शाही र माता पानसरा शाहीको कोखबाट जन्मिएका शाहीले प्रमाण पत्र तहको शैक्षिक योग्यता हासिल गरेका छन् । उनि विद्यालयको प्रधानाध्यापकदेखि विभिन्न अवधिमा सार्वजनिक पद धारण गर्दै हाल मन्त्री नियुक्त भएका हुन् ।
मन्त्री शाहीले कम्युनिष्ट विचारधारबाट राजनीतिक प्रवेश गरेपनि २०३२ सालमा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेका थिए । शाहीले २०३२ साल माघमा भारतको बनारसमा जननायक विश्वेश्वरप्रसाद कोइरालासँग भेटवार्ता गरी नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका हुन् ।
उनले पार्टीको सदस्यता प्राप्त गरेपश्चात २०३२ सालमै प्रतिबन्धित नेपाली कांग्रेस दैलेखमा जिल्ला कार्य समिति गठन गरेका थिए । तत्कालिन समयमा शाहीसहित गणेश बहादुर खड्का, रविन्द्रराज श्रेष्ठ, डिल्लीनाथ योगीले सक्रिय भूमिका निर्वाह गरेका थिए । २०३३ साल बैशाखमा गाउँफर्क अभियान अन्तरगत शाही तिलुखानाको उप–प्रधान पञ्च मनोनीत भई २०३५ सालमा राजीनामा दिएका थिए ।
शाहीले २०३४ सालयता पटक पटक जेल जीवन बिताएका थिए । २०३८ सालमा पार्टीको जिल्ला कार्यसमिति पुर्नगठन हुँदा सभापति गणेश बहादुर खड्का नेतृत्वको समितिमा शाहीले सह–सचिवको भूमिका निर्वाह गरेका थिए । २०४० सालमा पार्टीको जिल्ला कोषाध्यक्ष भई कामकाज गरेका शाही २०४९ बैशाखमा भएको स्थानीय निर्वाचनमा चामुण्डा गाउँ विकास समिति–५ बाट गाउँ विकास समिति सदस्य पदमा अत्यधिक बहुमतले विजयी भएका थिए ।
जनप्रतिनिधीको भूमिकामा रहेका शाही २०४९ देखि २०५४ सम्म दैलेख जिल्ला विकास समितिको सभापति पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गरे । जिविस सभापति हुँदा शाहीले तत्कालीन अवस्थामा विजया माध्यामिक विद्यालय र त्रिभुवन माध्यामिक विद्यालयलाई उच्च माध्यामिक तहका लागि स्वीकृती गराउन सफल भएका थिए । शाही २०४९ देखि २०५३ सम्म नेपाली काँग्रेस दैलेखको जिल्ला सचिव भएका थिए ।
दैलेख जिल्लाबाट तत्कालीन विद्रोही पक्ष माओवादीलाई शान्तिपूर्ण वार्तामा आउन आह्वान गर्दै २०५६ फागुन ७ गते माओवादीलाई बन्दुकको परेट होइन ब्रेनको परेट खेलौं भन्दै शाही अपिलकर्ताको रुपमा देखिएका थिए । नेपाली कांग्रेसको सातौं महाधिवेशनबाट शाही केन्द्रीय राजनीतिमा प्रस्तुत हुँदै दैलेखबाट पटक पटक महाधिवेशन र महासमिति प्रतिनिधी समेत चुनिदै आएका छन् ।
प्रतिक्रिया