मास्क लगाउन प्रेरित गर्न ‘तपाईको मास्क खोई ?’ अभियान

मास्क लगाउन प्रेरित गर्न ‘तपाईको मास्क खोई ?’ अभियान

दैलेख : मुखमा मास्कसँगै पुरै अनुहार छोप्ने गरी फेस सिल्ड र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको ब्यानर बोकेका केहि व्यक्ति अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनीहरु भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले दैलेख सदरमुकाममा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि सोसेक नेपालका कर्मचारी सडकमा यसरी नै देखा परे ।

अभियानका क्रममा प्रयोग गरिएको ब्यानरमा लेखिएको थियो ‘म जिम्मेवार नागरिक हुँ, थोरै मुल्यको मास्क लगाउँदा तपाईको अमुल्य जीवन जोगिन सक्छ, म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता ।’

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सोसेक नेपालले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गरेको हो । संस्थाका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जिल्ला प्रहरी कार्यालय दैलेखसँग समन्वय गरी अभियान सञ्चालन गरेको बताइन् । उनले बुधवार दैलेख सदरमुकाममा सञ्चालन गरिएको अभियानले साढे पाँच सय व्यक्तिहरुलाई मास्क वितरण गरिएको बताइन् । मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर हिडडुल गर्न समेत आग्रह गरेको गिरीले बताइन् ।

कोरोना भाइरसको महामारीबाट जोगिन तथा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । ‘हामीले पहिलो र दोस्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायस्तरमा विभिन्न सहयोग उपलब्ध गराएका थियौँ,’ उनले भने ‘अहिले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तपाईको मास्क खोई अभियानलाई निरन्तरता दिएका हौँ ।’

प्रतिक्रिया