जलवायूमैत्री कृषि नमूना गाउँ ‘भण्डारी टोल’ (भीडियो सहित)

जलवायूमैत्री कृषि नमूना गाउँ ‘भण्डारी टोल’ (भीडियो सहित)

भिडियाे सामग्री

दैलेख : कुनैबेला दैलेखको दुल्लु नगरपालिका–४ भण्डारी टोलका स्थानीय नागरिकलाई गाउँमै तरकारी खेती र पशुपालनबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्नेबारे ज्ञानको कमी थियो । आफुलाई खानका लागि सिमित परिवारले परम्परागत रुपमा तरकारी लगाउँथे । पशुपालन गर्ने घर परिवार पनि सिमित मात्रामा थिए । बर्षौदेखि हुँदै आएको परम्परागत खेती र पशुपालन पद्धती यतिबेला फेरिएको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले उत्थान परियोजना लागु गरेपछि यहाँका किसानहरु पहिलो पटक लाभान्वित भएका हुन् । अहिले यहाँका किसानहरुले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । गाउँका किसानहरुले प्रांगारिक मौषधी तथा बेमौषमी तरकारी खेती गरिरहेका हुन् । पशु पालन गर्ने किसानको संख्या पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

गाउँमा भण्डारी टोल कृषक समुह समेत गठन गरिएको छ । समुहमा ३६ जना किसान आबद्ध छन् । समुहमा आबद्ध भएका अधिकाँश किसान तरकारी खेतीमा संलग्न छन् । गाउँका ४ घरपरिवार किसानले स्थायी पोली हाउसमा तरकारी खेती गरिरहेका छन् भने २४ घरपरिवार किसानले अस्थायी पोली हाउसमा तरकारी लगाउँने गरेका छन् । यहाँका किसानले तरकारीमा विषादी प्रयोगलाई समेत निषेध गरेर गाउँमा अर्गानिक उत्पादनलाई जोड दिएका छन् । कारण, भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको छ ।

भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन हरेक घरले पलाष्टिक टनेल, तरकारी खेतीका लागि बीउ विजन र सामग्री तथा भकारो सुधारका लागि सहयोग प्राप्त गरेका छन् । गाउँमा सरसफाईसँग सम्बन्धीत चाङ निर्माण, फोहोर फाल्ने खाडल, पलाष्टिक पोखरी निर्माणमा समेत किसानहरुले सहयोग पाएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोग तथा अगुवाईमा भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ निर्माणको क्रममा छ ।

दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ निर्माण गर्न परियोजनाले १० लाख २३ हजार ६ सय ८० रुपैयाँ लगानी गरेको छ । परियोजनामार्फत स्थानीय किसानले तरकारी खेतीका लागि बीउ र सामग्री, अस्थायी र स्थायी पोली हाउस तथा प्राविधिक सहयोग प्राप्त गरेपछि व्यवसायिक तरकारी खेतीमा होमिएका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीय किसान अहिले खुसी छन् ।

प्रतिक्रिया