जो लालपूर्जा नदेखेरै अस्ताए

३८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ
३८ बर्षदेखि लालपूर्जा प्राप्तीको संघर्षकै क्रममा जीवन गुमाएका तीते दमाई ।
दैलेख : २०४० सालको पहिरोले विस्थापित भएपछि दैलेखको पश्चिममा पर्ने सात्तलास्थित बात्थलागाउँबाट २१ घर परिवार सुकिपिप्ली झरे । पहिरोले विस्थापित उनिहरुलाई राख्न ठाउँ खोजी गरेर हालको आठबीस नगरपालिका–१ सुकिपिप्लीको वन क्षेत्रमा बस्ती बसालियो । उनिहरु त्यहाँ बसोबास गरेको ३८ बर्ष भयो । तर उनिहरु लालपूर्जा विहिन छन् । यहाँका नागरिकहरु लालपूर्जा प्राप्तीको लडाईँ लडिरहेका छन् ।
जग्गाधनी लालपूर्जा प्राप्तीको लडाईमा अग्रपंतीमा देखिने मध्येका एक हुन् स्थानीय तीते दमाई । उनले आफ्नो र सिंगो समुदायका लागि लालपुर्जा प्राप्तीको लडाई लड्दा लड्दै जीवन गुमाए । उनको ८० बर्षको उमेरमा आइतवार निधन भयो । उनि ३८ बर्ष देखी लालपूर्जा प्राप्तीका लागि लड्दा लड्दै अस्ताय । उनको जीवन लालपूर्जा प्राप्तीको संघर्षमै बित्यो ।
जग्गाधनीको लालपूर्जा हातमा लिएर मर्ने उनको सपना पूरा हुन पाएन् । झण्डै दुई साता अघि सुकिपिप्ली बस्तीमा पुगेको पत्रकारहरुसँग उनले भनेका थिए, ‘लालपूर्जाको हातमा लियर मर्न पाए पनि मनलाई शान्ती हुने थियो ।’ तर, उनको यो सपना पुरा हुन पाएन् । लालपूर्जा दिलाईदिन हारगुहार गर्दागर्दै तीते अघिका तीन भाईको पनि निधन भईसकेको छ । अहिले तीतेपछिका दोस्रो पुस्ता लालपूर्जा पाउने आशमा छन् । तेस्रो चौथो पुस्ता हुर्कदै छन् । सुकिपिप्ली बस्तीमा अहिले २१ घरधुरीमा दुई सयको हाराहारीमा जनसंख्या छ ।
मरुभुमी जस्तै देखिने सुकिपिप्लीको सुकुम्बासी बस्ती ।
२०५२ मा नापी हुँदा स्थानीय केहि व्यक्तिहरुले आफ्ना बाबुबाजेको भैसी बाँध्ने चौर हो भन्दै विवाद झिकेपछि लालपूर्जा पाउनबाट उनिहरु बञ्चित भए । उक्त विवाद अहिलेसम्म पनि समाधान भएको छैन् । ‘चुनावताका जसले हामीलाई लालपुर्जा दिन्छ, उसलाई भोट दिन्छौ भनेपछि सबैले हुन्छ भन्छन् तर जिते पछि बस्तीमा कोही आउँदैनन्,’ स्थानीय सुनिता नेपालीले भनिन् ‘नापी भएको जग्गा न सरकारले लालपूर्जा दिन्छ न प्रतिवद्धता गर्नेहरुले सहयोग गर्छन् ।’
सुकिपिप्ली बस्ती हेर्दा मरुभुमि जस्तै छ । सिचाई असुबिधाले हिउँदे बाली हुँदैन । बर्षातमा मकै लगाएपनि जंगल जनावरले खाईदिने गरेका छन् । स्वास्थ्य, शिक्षाबाट बञ्चित यो बस्तीमा जीवनयापनका लागि कालापहाड जानुपर्ने बाध्यता छ । स्थानीय धनरुप नेपाली भन्छन् ‘उपभोग गरिरहेको जमिनको हक नपाउनुको पीडा एकातिर छदैँछ अर्कोतिर जीवनयापनका लागि मुग्लान जानु पर्ने बाध्यता छ ।’
बस्तीमा कक्षा एक देखी तीनसम्म पढाई हुने बिद्यालय मात्र छ । बालबालिकालाई ३ कक्षा भन्दा माथि पढाई गर्न दुईघण्टाको टाढाको विद्यालय जानुपर्ने बाध्यता छ । सुकिपिप्ली बस्तीलाई स्वास्थ्यमा समेत पहुँच छैन् । स्थानीय हंस बहादुर नेपाली भन्छन् ‘ सिटामोल लिन कै लागि दुई घण्टा पैदल हिडेर जाने जानुपर्छ, गर्भवती महिला त घरमै बाल जन्माउँछन् ।’ संघीय सरकारको नजरमा पर्न नसकेका हामीलाई स्थानीय सरकारले पनि वेवास्ता गरेको स्थानीय गाजले नेपाली बताउँछन् ।
प्रतिक्रिया