छोरी बलात्कारको कसूरमा ३५ वर्ष कैद

छोरी बलात्कारको कसूरमा ३५ वर्ष कैद

दैलेख : आफ्नै छोरीलाई बलात्कार गरेको घटनामा संलग्न दैलेखका एक जनालाई ३५ वर्ष जेल सजाय सुनाइएको छ । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा ३६ वर्षीय बाबुलाई ३५ वर्ष कैद, पीडित बालिकालाई एक लाख रुपियाँ क्षतिपूर्ति र दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने सजायको फैसला सुनाएको छ । सोमवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १० वर्ष कैद समेत गरी ३५ वर्ष कैदसंगै कसूरदारले क्षतिपूर्ति र नेपाल सरकारको पीडित राहत कोषमा उक्त रकम भराउनुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (घ) मा लेखिए अनुसार ‘१६ देखि १८ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १० देखि १२ वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा २५ वर्ष जन्मकैद र थप सजाय १० वर्ष समेत ३५ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।

२०७८ साउन २८ गते १७ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै २०७८ मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले सोहि दिन ती पुरुषलाई घरबाटै पक्राउ गरेको थियो । पीडित पक्षको उजुरी, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७८ पुस ४ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो ।

अभियोग सम्वन्धमा पुस ६ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख कारागारमा पठाइएको थियो । पीडित बालिकाले आफू माथि तीन बर्षदेखि पटक–पटक बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको वकपत्रमा दोहो¥याएर बयान दिएकी थिइन् । पछिल्लो पटक २०७८ साउन २८ गते बलात्कार भएको र भदौ १ गते पुनः बलात्कारको प्रयास गरेपछि ती बालिका प्रतिवाद गरेर घरबाटै भागेकी थिइन् । घरबाट भागेर उनि गाउँ नजिकै बजारको एक होटलमा झण्डै एक महिना भाँडा माझ्ने गरिन् । त्यसपपछि उनी सुर्खेतस्थित आफन्तको शरणमा पुगेकी थिइन् ।

आफन्तको शरणमा रहेकी ती बालिकाले घर छोडेको तीन महिनापछि एक गैरसरकारी संस्थाले आयोजना गरेको युवा सचेतना तालिममा सहभागी भएको बेला तालिम सहजकर्ता अधिवक्ता गीता कोइराला र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टिका बिष्टलाई २०७८ मंसिर ५ गते आफु बाबुबाट पटक पटक बलात्कृत हुँदै आएको जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

पीडित बालिकाले कानूनी उपचारमा जाने निणर्य गरेपछि इन्सेकले न्यायिक प्रक्रियाका लागि पाँच हजार रुपियाँ सहयोग समेत गरेको थियो । इन्सेकको समन्वयमा दैलेखस्थित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले कानूनी सहयोग र कानूनी प्रक्रिया अवधिका लागि पीडित बालिकालाई करिब एक महिना आपत्तकालिन आवास गृहमा संरक्षण दिएको थियो ।

कानूनी प्रक्रिया सुरु भएपछि कमाउने बाबुलाई थुनाएको भन्दै पीडित बालिकाको घरका बाजेबज्यै र आफन्तले असहयोग गर्न थालेपछि ती बालिका मावली घरका बाजेबज्यैको संरक्षणमा कक्षा १२ को नियमित तर्फको पढाई निरन्तरता दिएकी छिन् । पीडित बालिका मावलीमा बसे पनि उनको ३५ वर्षीया आमाको साथमा क्रमशः १४ र १० वर्षीया बहिनी र ५ बर्षीय भाई छन् ।

कमाउने मान्छे झण्डै जीवन भरिका लागि जेलमा हालेको भनेर गाली परिरहेको यो बेला आफैले कमाएर भाईबहिनीको उचित शिक्षा र आमालाई भरोसा दिलाउनुपर्ने दायित्व थपिएको पीडित बालिकाले बताइन् । ‘काम गर्दै गएँ भने तिरस्कार गर्नेहरुले स्वीकार गर्ने नै छन्, न्यायको निम्ति ठीकै गरेकी रहिछ भन्ने पार्नुछ, त्यो त्यति सजिलो छैन तर सार्थक तुल्याउनेछु’ उनले भनिन् ।

दैलेख जिल्ला अदालतले गत शुक्रवार मात्रै १४ बर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा जिल्ला सदरमुकाम नजिकैको एक गाउँका ३९ वर्षीय बाबुलाई ४३ वर्ष कैद र एक लाख रुपैंयाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ बर्ष कैद तथा एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो ।

प्रतिक्रिया