प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्युपछि आफन्त आन्दोलित

प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्युपछि आफन्त आन्दोलित

सुर्खेत :  प्रहरीको कुटपिटबाट युवाको मृत्यु भएको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन भइरहेको छ । बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएका कालीकोट नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमालको मृत्युलाई लिएर उनका आफन्त र स्थानीले आन्दोलन गरेका हुन् । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् ।

हमालसहित ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन उठेको हो । परिवार, आफन्तसहित आन्दोलनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

सुर्खेतको सुब्बा कुनाबाट प्रहरीले नियन्त्रणमा लिएका हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर स्थानीयले शवमा नील डाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पदम विष्टले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।

छानबिनका लागि प्रशासनले बनायो समिति

घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति समेत बनाइएको छ। शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति बनाएको हो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन्।  समितिले छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया