कर्णालीका अर्थमन्त्रीको सम्पत्ति : घरजग्गा छैन्, १३ लाख ऋण

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति :  घरजग्गा छैन्, १३ लाख ऋण

सुर्खेत : कर्णाली  प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।

मन्त्री विष्टले अहिलेसम्म मौज्दात रकम भने ७५ हजार मात्रै रहेको उल्लेख गरेका छन् । एनआईसी एशिया बैंकमा ३५ हजार र श्रीमती पुर्जा दलार्मी (विष्ट)को नाममा राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा ५० हजार मौज्दात रहको छ । उक्त रकम पारिश्रमिकबाट जम्मा गरिएको उल्लेख छ । अर्थमन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा श्रीमतीकै नाममा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उक्त जग्गा पनि पुर्ख्यौली सम्पत्ति र ऋण गरेर जोडेको उल्लेख गरेका छन् ।

विष्टले वीरेन्द्रनगर नगरपालिका-३ मा कित्ता नं. १८६१ र ०-०-८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । यो जग्गा श्रीमतीको माइतीबाट प्राप्त जग्गा हो । नेकपा माओवादी केन्द्रबाट गत मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका विष्टले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पत्ति विवरण बुझाएका हुन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया