अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा पत्निमाथी चक्कू प्रहार

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा पत्निमाथी चक्कू प्रहार


दैलेख : अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणी माथि उनका श्रीमान्ले चक्कू प्रहार गरी सख्त घाइते बनाएका छन् । नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाही माथि २७ वर्षीय उनको श्रीमान्ले बखतबहादुर शाहीले चक्कू प्रहार गरेका हुन् । घरमा बारम्बार कुटपिट र दुव्र्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकी सावित्रामाथी सोमवार साँझ माइतीघरमा पुगेर बखतले चक्कू प्रहार गरेका प्रहरीले जनाएको छ ।

सावित्रा माथि चक्कू प्रहार भए लगतै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कू प्रहार गरेर घाइते बनाएकोमा घटना लगतै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा पु¥याइएको छ । दिनहुँ जस्तो कुटपिट गर्न थालेपछि गएको दुई महिनादेखि माइतीघरमा बस्दै आएकोमा माइतीमै पुगेर एक्कासी चक्कू प्रहार गरी घाइते बनाएको पीडित महिलाले बताइन् । तीनै जनाको उपचार दैलेख अस्पतालमा भईरहेको डा. जगत थापाले जानकारी दिए ।

पीडित पक्षले मंगलवार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्वन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । उनलाई प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।
आरोपित बखत र पीडित सावित्रीको नौ वर्ष अघिको बैवाहिक सम्वन्धबाट सात वर्षको बिवेक र चार वर्षको बसन्त नामका दुई वटा छोरा छन् । यी दुवै अहिले मावलीमै छन्, बिवेक अहिले नेपाल राष्ट्रिय आधारभूत विद्यालय ठानडाँडामा कक्षा ३ मा पढ्दैछन् ।

प्रतिक्रिया