सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरद्धारा गुराँस गाउँपालिकामा सञ्चालित परियोजनाको अनुगमन भ्रमण

सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरद्धारा गुराँस गाउँपालिकामा सञ्चालित परियोजनाको अनुगमन भ्रमण

दैलेख : सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरले गुराँस गाउँपालिकामा सञ्चालित परियोजनाको अनुगमन भ्रमण गरेकी छन् । कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेल (Heather Campbell) ले गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो, विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना र लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) परियोजनाको प्रभावबारे अनुगमन भ्रमण गरेकी हुन् । यी तीन वटा परियोजना सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित छ ।

कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेलसहितको टोलीले गुराँस गाउँपालिका–५ स्थित कृष्ण मावी सानाकाँडा को विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक सहित शिक्षक र स्कुल एट होमसँग शिक्षा सम्बन्धी भएका कामहरुबारे कक्षा कोठा अवलोकन तथा अन्तरक्रिया छलफल गरेको छ ।

यस्तै वडा बाल संजाल, वडा बाल अधिकार समिति, वडा बाल संरक्षण समितिसँग बाल अधिकार सम्बन्धी वडामा भएका कामहरुको छलफल समेत भएको छ । कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेलले गुराँस गाउँपालिकाका अध्यक्षसहित कर्मचारीको टोलीसँग तीन वटै परियोजनाबारे छलफल गरेकी छिन् । शिक्षा, बाल संरक्षण, बाल अधिकार शासनको क्षेत्रमा भएका कामहरुबारे अन्तरक्रिया एवं छलफल भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम निर्देशक नवराज बिसीले बताए ।

उनका अनुसार कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेलले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको कार्यसमिति पदाधिकारी एवं सदस्यहरु तथा कर्मचारीहरुसँग समेत छलफल एवं अन्तरक्रिया गरेकी छिन् । संस्थाका अध्यक्ष हीरासिंह थापा लगाएतको उपस्थितीमा छलफल एवं अन्तरक्रिया भएको हो । अन्तरक्रियाका क्रममा तीन वटै परियोजनामार्फत भएका प्रगति र प्राप्त उपलब्धिबारे जानकारी गराईएको छ । छलफल तथा अन्तरक्रियाका क्रममा कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेललले सेभ द चिल्ड्रेनका परियोजनाहरु जीविकोपार्जन र खाद्य सुरक्षामा केन्द्रीत हुनमा जोड दिएको बताईएको छ ।

प्रतिक्रिया