मुखरीया चुप्रा खानेपानी तथा सरसफाई योजना उद्घाटन

मुखरीया चुप्रा खानेपानी तथा सरसफाई योजना उद्घाटन

दैलेख : डुङ्गेश्वर गाउँपालिका–१ चुप्रामा सम्पन्न मुखरीया चुप्रा खानेपानी तथा सरसफाई योजना उद्घाटन गरिएको छ । डुङ्गेश्वर गाउँपालिका, हेल्भेटास नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक सहजिकरणमा सम्पन्न योजना उद्घाटन गरिएको हो । ३० औँ विश्व पानी दिवसको अबसर पारेर योजना उद्घाटन गरिएको हो ।

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ल, उपाध्यक्ष सिता ज्ञावली, डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डांगी, हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्ट, सोसेक नेपालका कोषाध्यक्ष कमला चन्द, स्थानीय उपभोक्ता लगाएतको विशेष उपस्थितीमा योजना उद्घाटन गरिएको हो ।

योजना उद्घाटन समारोहमा डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिकाले एक घर एक धाराको परिकल्पना सहित खानेपानीका योजना निर्माण गरिहेको बताए । उनले चुप्राबासीलाई खानेपानीको सुविधा पुर्याउन सहयोग गर्ने हेल्भेटास नेपाल र सोसेक नेपाललाई धन्यवाद दिए ।

उपाध्यक्ष सिता ज्ञावलीले खानेपानीको दिगोपनाका लागि उपभोक्ताहरु सक्रिय हुनुपर्ने बताइन् । हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्टले डुङ्गेश्वर गाउँपालिकाका सबै नागरिकहरुको पहुँचमा शुद्ध खानेपानी पुर्याउने गरी काम गर्ने   बताए ।

डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डांगीले खानेपानी समस्याले काकाकुल चुप्राका स्थानीय बासिन्दाको खानेपानी सपना बल्ल पुरा भएको बताए । उनले आफुहरुले निर्वाचनको समयमा चुप्राका बासिन्दालाई खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता जनाए अनुसार कार्यकाल सकिनै लाग्दा चुप्रामा खानेपानीको सुविधा पुर्याउन सफल भएको बताए ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कोषाध्यक्ष कमला चन्दले खानेपानी योजनालाई दिगो रुपमा सञ्चालन गराउनका लागि उपभोक्ताहरु सचेत रहन आग्रह गरिन् । योजना समितिका अध्यक्ष टोपबहादुर खत्रीले चुप्राका २ सय ९४ घरधुरीमा धारा जडान गरिएको बताए । योजना पूरा भएसँगै एक हजार ७ सय जना लाभान्वित भएको उनको भनाई छ ।

‘विहान ७ बजदेखि साँझ ७ बजेसम्म पानी वितरण गरेका छौ,’ खत्रीले भने ‘पानीलाई शुद्धिकरणका लागि मेसिन समेत जडान गरिएको छ ।’ एक करोड ५६ लाख ५४ हजार रुपैयाँ लागतमा योजना निर्माण भएको अध्यक्ष खत्रीले बताए । चुप्राका सबै घरधुरीमा खानेपानीको सुविधा पुगेपछि स्थानीयले पानीको दुःख बिर्सिएका छन् ।

प्रतिक्रिया