मानव अधिकार शिक्षा प्रवद्र्धनमा इन्सेकले गरेको कामको प्रशंसा

मानव अधिकार शिक्षा प्रवद्र्धनमा इन्सेकले गरेको कामको प्रशंसा

दैलेख : दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले मानव अधिकार शिक्षा प्रवद्र्धनमा इन्सेकले गरेको कामको प्रशंसा गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष इन्दिरा श्रेष्ठसंगको दैलेखमा भएको भेटमा उनले सो धारणा राखेका हुन् । अध्यक्ष श्रेष्ठले न्यायिक निकायबाट मानव अधिकार रक्षा निम्ति भइरहेको प्रयासको चर्चा गर्दै दैलेख जिल्ला अदालतले गरेको फैसलाबाट पीडितले न्याय पाएको भन्दै न्यायाधीश लामिछानेलाई धन्यवाद दिइन् ।

न्यायाधीश लामिछानेले प्रमाण पुगेर आएका मुद्दामा पीडितलाई न्याय दिनू आफ्नो कर्तव्य भएको बताए । ‘हामी सबैको काम सामाजिक न्यायलाई प्रोत्साहित गर्नू भएकोले सहकार्य भइरहनुपर्छ’ उनले भने ।

यसैबीच इन्सेकका अध्यक्ष इन्दिरा श्रेष्ठले इन्सेकको ‘अधिकार–२ परियोजना’ अन्तरगत गठित मानव अधिकार रक्षक सञ्जाल र ‘इएलपी परियोजना’ अन्तरगत गठित मानव अधिकार समूहका पदाधिकारी र नागरिक समाजको अगुवासंग दैलेख जिल्लाको मानव अधिकार अवस्था विषयमा छलफल गरिन् ।

मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बिशाल सुनारले स्थानीय सरकारले आर्धिक, सामाजिक तथा साँस्कृतिक अधिकार दायित्व नै बोध नगरेको टिप्पणी गरे । नागरिक समाजका अगुवा, वकील र पत्रकारहरुले शिक्षा, स्वास्थ्य र मानव अधिकारका स्थानीय सवाल जानकारी गराएका थिए ।

त्यसबखत नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापाले समूहको अग्रसरतामा अस्पतालमा पोष्टमार्टम निशुल्क गराइएको, नमूनाबस्तीमा खानेपानी धारा जडान, कुइकानामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना तथा सेवा सुचारु लगायतका काम गरेको जानकारी गराइन् ।

स्थानीय सवाल बारे जानकारी लिएपछि अध्यक्ष श्रेष्ठले मानव अधिकार समूहको सक्रियतामा गरिएको काम निम्ति धन्यवाद दिंदै विपन्न तथा पिछडिएको क्षेत्रको न्याय र श्रोतमा पहुँच अभिबृद्धिमा निरन्तर जुट्न नागरिक समाजका अगुुवा तथा अधिकारकर्मीलाई आग्रह गरिन् ।

वकालत तथा पैरवीका काम गरिरहँदा मानव अधिकार रक्षक नै धेरै जोखिम पर्ने गरेको सिकाई प्राप्त भएकोले मानव अधिकार रक्षकहरुको सुरक्षा तथा संरक्षण विषयमा ऐन ल्याउन सरकालाई इन्सेकले ध्यानाकर्षण गराइरहेको उनले बताइन् ।
दैलेखमा मानव अधिकारको अवस्था अध्ययन गर्न आउनुभएका इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठको साथमा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा प्रमुख मदन पौडेल र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी पनि साथमा थिए ।

प्रतिक्रिया