पञ्चदेवल मावीका पूर्व विद्यार्थीले चलाए गाउँमै बृहत स्वास्थ्य शिविर

पञ्चदेवल मावीका पूर्व विद्यार्थीले चलाए गाउँमै बृहत स्वास्थ्य शिविर



दैलेख : जिल्लाको भैरवी गाउँपालिका–२ रावतकोटको पञ्चदेवल मावीका पूर्व विद्यार्थीहरुले गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विद्यालयको पूर्व विद्यार्थीहरुद्धारा स्थापित पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा झन्डै एक हजार चार सय बिरामीको उपचार गरिएको छ । गाउँमै डाक्टर पुगेपछि यहाँका विपन्न घरपरिवारका बिरामीले बर्षौपछि उपचार पाएका छन् ।शिविरबाट बुद्धबृद्धा, बालबालिका, महिला तथा आर्थिक रुपमा विपन्न नागरिकहरु लाभान्वित भएका छन् ।

विद्यालयमै आयोजित दुई दिने शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।शिविरबाट गाउँका बृद्धबृद्धा, आर्थिक रुपमा विपन्न नागरिकहरुले गाउँमै निशुल्क उपचार सेवा पाएको स्थानीय ८८ बर्षीया उज्जेली खत्रीले बताइन् । ‘भाईछोराहरुले गाउँमै डाक्टर बोलाएर हाम्रो उपचार गरिदिएका छन्, हामी अत्यन्तै खुसी छौ,’ उनले भनिन् । शिविरमा उपचारका लागि आएका स्थानीय विष्णुप्रसाद तिमिल्सेनाले गाउँमै निशुल्क स्वास्थ्य उपचार सेवा पाउँदा खुसी लागेको बताए । ‘हामी महंगो अस्पतालहरुमा गएर उपचार गराउन सक्दैनौ, आर्थिक अवस्था निकै कमजोर छ, अहिले पञ्चदेवल मावीमा पढेका पूर्व विद्यार्थीहरुले गाउँलेलाई ठूलो सहयोग गरे, उहाँहरुप्रति आभारी छौ,’ उनले भने ।

सोहि विद्यालयमा माध्यामिक तहसम्म अध्ययन गरेका डा. जगत थापाले उपचार गर्न नसकेर झण्डै पाँच बर्षदेखि थला परेर बसेका नागरिकहरुको शिविरमा उपचार गरिएको बताए । ‘स्वास्थ्य चेकजाँचको क्रममा गाउँका अधिकाँश व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या देखा परेको छ,’ दैलेख अस्पतालमा कार्यरत रहेका डा.थापाले भने ‘शिविरबाट गाउँका धेरै जसो नागरिकहरुको स्वास्थ्य समस्या पहिचान भएको छ ।’ शिविरमा उपचारका लागि आएका महिलाहरुको पाठेघर खस्ने लगाएतका समस्या देखा परेको डा. थापाले बताए ।

पञ्चदेवल पूर्व विद्यार्थी समाजका सदस्य निराजन विष्टले शिविरमा एक जना आर्युवेद र ६ जना एलोप्याथिक चिकीत्सकहरुले निशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा दिएको बताए । शिविरमा ओपीडी उपचार सेवा सहित ल्याब र भीडियो एक्सरे सेवा तथा निशुल्क औषधी वितरण समेत गरिएको विष्टले बताए । ‘प्राकृतिक जीवनशैली, खानपान र यसको महत्वका सन्दर्भमा योग ध्यान पनि स्वास्थ्यका लागि महत्वपूर्ण छ, यहि सन्दर्भमा आम नागरिकहरुका लागि स्वास्थ्य सचेतनामुलक कार्यक्रम अन्तरगर्त ‘चौतारीमा चर्चा’ नामक कार्यक्रम समेत शिविरमै सञ्चालन गरेका छौँ,’ विष्टले भने । उनले शिविरमासबै चिकीत्सक र अन्य स्वास्थ्यकर्मीहरुले निशुल्क सेवा दिएको बताए ।

समाजका महासचिव सुर्य थापाले पञ्चदेवल मावीमा अध्ययन गरेका र अहिले देशका विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरु एकजुट भएर गाउँ र विद्यालयका लागि केहि नयाँ काम गर्ने उदेश्यका साथ पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपाल स्थापना गरेको बताए ।

‘यो विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरु हाल देशका विभिन्न क्षेत्रमा कार्यरत हुनुहुन्छ, विद्यालयका पूर्व विद्यार्थीहरु एकजुट भएर गाउँ र आफुले पढेको विद्यालयका लागि काम गर्ने उदेश्यसहित पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपाल गठन गरिएको हो, समाजले थुप्रै उदेश्यहरु तय गरेको छ, त्यसमध्ये अहिले पान बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्न सफल भएका छौ,’ उनले भने । उनका अनुसार ८० बर्ष नाघेका बृद्धबृद्धालाई उपहार स्वरुप छाता र च्यवनप्रास उपलब्ध गराईएको छ ।

आफ्नो जन्मभूमि र आफु दिक्षित भएको मातृ विद्यालयका लागि योगदान गर्न तथा समाजसेवामा आबद्ध भईरहन पञ्चदेवल मावीका पूर्व विद्यार्थीहरु एकजुट भएको समाजका उपाध्यक्ष तेजबहादुर थापाले बताए । उनले पूर्व विद्यार्थीहरुबीच एकता र भातृत्वको भावना विकास गर्दै आफ्नो कमाईको निश्चित अंश योगदान गर्दै मानव हितकारी र समाजसेवाका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्ने उदेश्यले समाज स्थापना गरिएको बताए । २०७८ गत असोज १८ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएको पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपाल समाज कल्याण परिषद्मा समेत आबद्ध भईसकेको छ ।

हाल ४६ जना संस्थापक सदस्य, ४५ जना आजीवन सदस्य र एक सय ५० जना साधारण सदस्य समाजमा आबद्ध छन् । समाजले बाचनालय सहितको पुस्तकालय व्यवस्थापनका लागि विद्यालयलाई एक लाख रुपैयाँ उपलब्ध गराईसकेको छ । समाजको अगुवाईमा गत मंसिरमा शिक्षाविद् विद्यानाथ कोइरालासँग सेवा क्षेत्र भित्रका सबै विद्यालयका शिक्षकहरुसँग शैक्षिक सुधारका लागि शिक्षकहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । समाजकै अग्रसरतामा क्यान्सर पीडित दुई जनालाई संस्थाको तर्फबाट ४० हजारसहित सहयोग संकलन गरेर प्रतिव्यक्ति ९२ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
शिविरमा उपचारका लागि आएका नागरिकको स्वास्थ्य जाँच गर्दै चिकीत्सकहरु ।

प्रतिक्रिया