एमालेकै नेतृत्वमा पेट्रोलियम पदार्थ अन्वेषणदेखि उत्खनन्सम्म :अध्यक्ष ओली

एमालेकै नेतृत्वमा पेट्रोलियम पदार्थ अन्वेषणदेखि उत्खनन्सम्म :अध्यक्ष ओली

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको र उत्खनन् सुरु भए दैलेखको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने बताए ।

पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन् जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सरकारले दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण देखि उत्खनन्का काम अघि बढाएको भए पनि वर्तमान सरकार मुखदर्शक भएको छ । उनले जनताका चाहाना अनुरुप एमालेको सरकार बन्ने र रोकिएको योजना आयोजना अघि बढाउने बताए ।

अध्यक्ष ओलीले दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै तहहरु लाग्नुपर्ने बताए । अध्यक्ष ओलीले समृद्धि र विकास एमाले बाहेकका दलले गर्न नसक्ने दाबी समेत गरेका छन् । आफ्नो तिन वर्षे कार्यकालमा देशले गति लिएको बताउँदै अहिलेको सरकार विकास विरोधी भएको आएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण क्षेत्रको विकासका लागि २ सय १० वटा सडकहरु शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नुहँदा कटौती गरेको बताए । ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामथ्र्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्छ,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै दैलेखमा पनि धेरै नागरिकका घर खरका छाना मुक्त भएर जस्तापाता लगाइएका बताए । उनले बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने बताए ।

अध्यक्ष ओलीले आफ्नो सरकारको तीन वर्षे कार्यकालमा देशको विकासका लागि राम्रा कामहरू गरेको र पुनः एमाले सरकारमा आए पछि विकासे गतिलाई तीव्रता दिने बताए । ‘देशको रक्षा, विकास र सुशासनका लागि एमाले बाहेक अन्य पार्टीले काम गर्न सक्दैनन् अहिले अलपत्र परेका विकासका काम एमालेको सरकार आएपछि अघि बढाउँछ, जनताका दैनिक समस्या समाधान गर्न पहल गर्छ,’ अध्यक्ष ओलीले भने ।

उनले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे । ‘एमालेको चाहाना देशको विकास गर्ने हो जनतालाई सुखी बनाउने हो,’ अध्यक्ष ओलीले भने ‘राष्ट्रलाई माया गर्ने सबै राष्ट्र प्रेमीहरू एमालेमा आउनु पर्छ ।’

प्रतिक्रिया