आफ्नै प्रतिबद्धता तोड्दै दलहरु

आफ्नै प्रतिबद्धता तोड्दै दलहरु

दलका चुनावी कार्यक्रममा बालबालिकाको अत्यधिक प्रयोग

दैलेख : २०७२ असोजताका दैलेखका सबै राजनीतिक दलहरुले एक साझ प्रतिबद्धतामा हस्ताक्षर गरे । विद्यालय शान्ति क्षेत्र कार्यान्वयन प्रतिबद्धतामा ऐक्यबद्धता जनाएका दलहरुले ‘कुनै पनि दलगत क्रियाकलापमा बालबालिकाको प्रयोग गर्ने छैनौ’ भन्दै हस्ताक्षर गरे । दलहरुले विद्यालय क्षेत्रमा कुनै पनि राजनीतिक गतिविधि नगर्नेे प्रतिबद्धता जनाएका थिए । त्यसयता जिल्लामा क्रियाशिल ठूला राजनीतिक दलहरुले आफ्नै प्रतिबद्धताको खिल्ली उडाउँदै आएका छन् ।

२०७४ मा भएको स्थानीय तह, प्रदेश सभा सदस्य, प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार लगाएतका कार्यक्रममा बालबालिकाको अत्यधिक प्रयोग गरे । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचार प्रसारमा समेत दलहरुले बालबालिकालाई प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहितामा १८ बर्ष उमेर पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न र गराउन नहुने उल्लेख छ ।

दलहरुले भने आफ्नै प्रतिबद्धता तोड्दै निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसार, आमसभा, पार्टी प्रवेश कार्यक्रमहरुमा बालबालिका प्रयोग गर्दै आएका छन् । दलहरुले गर्ने कार्यक्रममा नेताकार्यकर्ता भन्दा बालबालिकाको संख्या बढि देखिने गरेको छ । शुक्रवार नेकपा (माओवादी केन्द्र) ले आठबीस नगरपालिका–१ सात्तलामा आयोजना गरेको जनसभामा त्यस्तै दृष्य देखियो । जहाँ नेता कार्यकर्ता भन्दा बालबालिकाको संख्या बढि देखिन्थ्यो ।

यता नेपाली काँग्रेसले जिल्लाभर सञ्चालन गरेको ‘घर–घर जाऔँ काँग्रेस जिताऔँ’ अभियानमा समेत बालबालिका प्रयोग भईरहेका छन् । काँग्रेसले बालबालिकाहरुलाई चुनावी कार्यक्रम तथा अभियानहरुमा नृत्यदेखि ¥यालीसम्म सहभागि गराउने गरेको छ । नेकपा एमालेले गरिरहेको जनसभाहरुमा समेत बालबालिकाको प्रयोग भईरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका विभिन्न तहमा गरिरहेको कार्यक्रममा समेत बालबालिका प्रयोग गरिरहेको छ ।

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु अत्यन्त निन्दनीय कार्य भएको अधिकारकर्मीहरु बताउँछन् । लामो समयदेखि शिक्षा र बाल अधिकारको क्षेत्रमा कार्यरत नवराज बिसीले राजनीतिक दलका कार्यक्रममा बालबालिकाको प्रयोग रोक्न आग्रह गरेका छन् ।

दलहरुले भने पार्टीको चुनावी कार्यक्रममा बालबालिका प्रयोग नगरेको दाबी गरेका छन् । नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले काँग्रेसका चुनावी कार्यक्रमहरुमा बालबालिका प्रयोग नगर्न आफुहरु सचेत रहेको बताए । ‘निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन् यसमा हामी गम्भीर छौँ,’ सभापति रेग्मीले भने ।

एमाले जिल्ला कमिटि सदस्य रेखा थापाले कुनै पनि दलहरुले निर्वाचनका गतिविधिमा बालबालिका प्रयोग गर्न नहुने बताइन् । ‘हामीले बालबालिकालाई पार्टीको झण्डा बोकाएर हिडाएका छैनौ,’ थापाले भनिन् ‘‘निर्वाचनमा बालबालिकाको प्रयोग     रोक्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) दैलेखका संयोजक प्रेम कटुवालले आफुहरुले कुनै पनि आमसभा लगाएतका कार्यक्रममा बालबालिका प्रयोग नगरेको दाबी गरेका छन् । उनले आफुहरु चुनावी कार्यक्रमहरुमा बालबालिका प्रयोग गर्नु हुँदैन भन्नेबारेमा सचेत रहेको बताए । ‘हामीले बालबालिकालाई कार्यक्रममा बोलाउँदैनौ, पार्टीको झण्डा बोकाएर पनि हिडाएका छैनौ,’ विद्यालय नजिकै वा गाउँ–गाउँमा भएका कार्यक्रममा बालबालिकाहरु स्वस्फुर्थ रुपमा आउँछन्, त्यसलाई हामीले रोक्न सकेका छैनौँ,’ उनले भने ।

यता जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचन आचारसंहिता लागुभएपछि अनुगमनलाई तिब्रता दिने बताएको छ । जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले दलहरुले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गर्न नहुने बताइन् । ‘दलहरुका चुनावी कार्यक्रममा कतिपय स्थानमा स्वस्फुर्थ आउने गरेका छन्, त्यो एउटा पाटो हो,’ उनले भनिन् ‘दलहरुले चुनावी आमसभा, ¥यालीहरुमा पार्टीको झण्डा नै बोकाएर हिडाउनु गलत हो, त्यसलाई रोक्न अनुगमनको पाटोलाई बलियो बनाउँछौँ ।’ जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले निर्वाचन आचारसंहिता लागुभएपछि अनुगमनलाई तिब्रतादिने बताइन् ।

प्रतिक्रिया