विनोद चौधरी भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

विनोद चौधरी भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

काठमाडौँ : विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् ।

दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दस करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एक व्यक्ति मात्र धनी हुँदैमा आफूलाई सन्तुष्टि नमिल्ने बताउँदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए । ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने,‘आफूसँग भएको ज्ञान र सिकेको सीप देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हुँ ।’

यस्तै उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।

२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी ‘टप टेन’को सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।

प्रतिक्रिया