खानेपानीको पाइपलाइन पुर्ने क्रममा लडेर मृत्यु भएका शाहीको परिवारलाई महाबु गाउँपालिकाले दियो राहत रकम

खानेपानीको पाइपलाइन पुर्ने क्रममा लडेर मृत्यु भएका शाहीको परिवारलाई महाबु गाउँपालिकाले दियो राहत रकम


दैलेख : खानेपानीको पाइपलाइन पुर्ने क्रममा लडेर ज्यान गुमाएका जिल्लाको महाबु गाउँपालिका–६ उत्तेसैनीका सुर्य बहादुर शाहीको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीका अनुसार मृतक शाहीको परिवारलाई राहत स्वरुप नगद रु २५ हजार रुपैयाँ प्रदान गरिएको हो । शाहीको परिवारलाई राहत स्वरुप गाउँपालिकाको तर्फबाट उक्त रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । उक्त रकम मृतक शाहीका छोरा त्रिभुवन शाहीलाई हस्तान्तरण गरिएको छ ।

यसअघि हेल्भेटास नेपालले शाहीको परिवारलाई किरिया खर्च उपलब्ध गराएको थियो । हेल्भेटासले शाहीको परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । गत सोमवार हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापासहितको टोलीले मृतक शाहीको घरमै पुगेर किरिया खर्च बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

महाबु गाउँपालिका–६ वल्लो उत्तेसैनीमा महाबु गाउँपालिका, हेल्भेटास नेपाल र सोसेक नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामाजिक सहजिकरणमा चिप्लेटी वल्लो उत्तेसैनी खानेपानी तथा सरसफाई योजना सञ्चालित छ । हाल उक्त योजना निर्माणाधिन अवस्थामा छ । उक्त खानेपानी योजनाको उपभोक्ता समेत रहेका मृतक शाही खानेपानी योजनामा काम गर्दै आएका थिए । सडक छेउको भीरालो स्थानमा खनिएको पाइपलाइनमा पाइपालाइन पुर्ने क्रममा चैत्र १३ गते आइतवार लडेर उनको निधन भएको थियो ।

सम्बन्धित समाचार

खानेपानीको पाइपलाइन पुर्ने क्रममा लडेर मृत्यु भएका शाहीको परिवारलाई किरिया खर्च

प्रतिक्रिया