राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

          |   प्रकाशित मितिः शनिबार, चैत्र २६, २०७८     ::: 137 पटक पढिएको   |  

काठमाडौं : संकटग्रस्त अर्थतन्त्र सम्हाल्न खोज्दा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। सरकारले गभर्नर अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको बताइएकाे छ। गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो।

निर्वाचन आचारसंहिता सुरु हुने समयको मुखमा उनलाई प्रतिशोधपूर्ण ढंगले किनारा लगाइएको हो। यसलाई लिएर अर्थविज्ञहरूले आपत्ति जनाएका छन्। अर्थ मन्त्रालयले गभर्नरलाई हटाउने प्रक्रियाअन्र्तत सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २२ (२) अनुसार नेपाल सरकारले उपदफा (१) बमोजिम गभर्नरलाई पदमुक्त गर्दा दफा २३ बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिसमा गर्नेछ। त्यही दफाको (४) मा भनिएको छ, ‘सरकारले उपदफा (१) बमोजिम गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गर्नासाथ निजहरू आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछन्।’
सरकारका गलत नीतिका कारण खस्किँदो अर्थतन्त्रको वास्तविकता ढाकछोप गर्न गभर्नर तारो बनाइएका छन्। अर्थ मन्त्रालय उच्च स्रोत भन्छ, ‘गभर्नर अर्थतन्त्रलाई नियन्त्रणबाहिर जानबाट रोक्न चाहन्थे। अर्थमन्त्री जनार्दन शर्मा विभिन्न स्वार्थ समूहका कुरा सुन्थे। यही विरोधाभाषले दुईबीच लामो समयदेखि द्वन्द्व थियो।’

अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए। उनलाई निलम्बन कानुनविपरीत भएको छ। अर्थशास्त्री केशव आचार्यले गलत समयमा भएको यो निर्णयले अर्थतन्त्रमा  नकारात्मक असर गर्ने बताए। ‘अर्थतन्त्र अप्ठ्यारोमा छ। चुनाव लागिसकेको छ। बजेट बनाउनुपर्ने बेला छ। यस्तो बेला गभर्नर हटाइन्छ, यो कस्तो सरकार हो ?’ उनले भने।



Leave a comment

Your email address will not be published.


*