दैलेखमा पर्यटन महोत्सव

दैलेखमा पर्यटन महोत्सव


दैलेख पर्यटन महोत्सब उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा लगाएत ।

दैलेख : जिल्लामा पर्यटन दैलेख पर्यटन महोत्सव आयोजना गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो । जिल्लामा झण्डै दुई बर्षपछि महोत्सव सञ्चालन भएको हो । यस अघि २०७६ मा दैलेख सांस्कृतिक तथा घरेलु व्यापार महोत्सव सञ्चालन भएको थियो । त्यसयता कोरोना भाइरस (कोभिड–१९) को जोखिममा कारण महोत्सवहरु सञ्चालन हुन सकेको थिएन् ।

दैलेख जिल्ला सदरमुकामको खुला मञ्च काँडाचौरमा सञ्चालन भएको महोत्सवको आयोजना स्वच्छ शहर निर्माण केन्द्र दैलेखले गरेको हो । महोत्सव शनिवार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन समारोहमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष एवं गायक राजुकुमार खत्री लगाएतको उपस्थिती थियो ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले मेला महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । रोहित ग्रुप अफ कम्पनी मुख्य प्रायोजक रहेको महोत्सवलाई च्यालेन्ज प्रकाशन प्रालि र अन्नपूर्ण इन्टरप्राइजेजले प्रायोजन गरेका छन् । महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तह, कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रवद्र्धकको रुपमा रहेका छन् ।

मेगा बैंक नेपाल लिमिटेड दैलेख, विन्ध्यावासिनी सपिङ्ग सेन्टर, अल्फा पुस्तक पसल, पारिवारिक नीजि वन संघ दैलेख सहप्रायोजक रहेको महोत्सव आगामी बैशाख ३ गतेसम्म सञ्चालन हुने संयोजक हरिबहादुर थापाले जानकारी दिए । महोत्सवको पहिलो दिन चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगर, गायक राजु केसी लगाएत स्थानीय कलाकारको बेजाड प्रस्तुती रहेको थियो ।

महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रियस्तरमा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । जिल्लाको सांस्कृतिक तथा ऐतिहासिकता झल्कने विभिन्न नाचहरु, लोकदेउडा समेत महोत्सवमा प्रस्तुत हुनेछन् । महोत्सवमा सय बढि स्टलहरु राखिएको छ भने बाल उद्यानको रमाइलो मेला, चर्खे पिङ लगाएतका थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् । स्टलहरुमा जिल्लामा उत्पादित सामग्रीहरु प्रर्दशनी तथा बिक्री वितरणका लागि राखिएको छ ।

प्रतिक्रिया