सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग बन्दै

सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग बन्दै

सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिकामा १५ अर्ब बराबरको लगानीमा सिमेन्ट उद्योग सञ्चालन हुने भएको छ । लगानी बोर्डको अनुमतिसँगै सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी सुरु गरेको छ ।

लगानी बोर्डको चैत १७ गतेको बैठकले सुर्खेतको बराहतालमा सिमेन्ट उद्योग सञ्चालनका लागि अनुमति दिएको थियो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ । बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरेको छ ।

उद्योग सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले भेरीको जामु पुलदेखि उद्योग स्थापना हुने क्षेत्र चौकुने र खानी लखरपाटादेखि उद्योगसम्मको पहुँच मार्ग (सडक) र खानी तथा उद्योगमा पानी उपलब्ध गराउने भएको छ । उद्योगले असोजबाट पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरेको छ ।

‘दुई वर्षभित्र उत्पादन सुरु गर्ने गरी प्रक्रिया अघि बढाएका छौं,’ सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले भने । उद्योगका लागि जग्गा, पहुँच मार्ग निर्माण र संरचना निर्माणको काम सुरु गरिसकेका उनको भनाइ छ ।

पूर्वाधार निर्माण सुरु गरेको दुई वर्षभित्र सिमेन्ट उत्पादन सुरु गरिसक्ने अध्यक्ष तिमिल्सेनाले भने । उनका अनुसार उक्त उद्योग कर्णाली प्रदेशकै पहिलो ठूलो उद्योग हुनेछ । यसका लागि स्थानीय, प्रदेश र संघ सरकारबाट आवश्यक सहयोग र सहजीकरण हुने बताइएको छ ।

उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ । लखरपाटामा करिब ९० वर्षका लागि पुग्ने चुनढुंगा रहेको अनुमान गरिन्छ । कर्णाली र छिमेकी प्रदेश सुदूरपश्चिममा हालसम्म सिमेन्ट उद्योग छैनन् ।

लगानी बोर्डले कर्णाली प्रदेश सरकारलाई उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन पत्राचार गरेको छ । यस क्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले हालसम्मकै ठूलो लगानी कर्णाली भित्रिएको बताए ।

प्रदेश सरकारले उद्योग सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ । उद्योग सञ्चालकसँगको छलफलमा उद्योग र खानीसम्मको पहुँच मार्ग निर्माण, खानेपानी लगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकारले सघाउने मुख्यमन्त्री शाहीले प्रतिबद्धता जनाए ।

‘लाइसेन्स लिने र उद्योग सञ्चालन नगर्ने परिपाटीको अन्त्य गर्न तोकिएको कार्ययोजनाभित्र रहेर काम सुरु गर्न उद्योगीलाई मेरो सुझाव छ,’ मुख्यमन्त्री शाहीले भने । उनले दुई वर्षभित्र उत्पादन सुरु गर्ने कार्ययोजना तयार बनाउन निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया