सुर्खेत उद्योग वाणिज्य संघ : एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका कँडेल अध्यक्षमा निर्वाचित

सुर्खेत उद्योग वाणिज्य संघ : एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका कँडेल अध्यक्षमा निर्वाचित

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्कालाई हराएका हुन्। कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले जम्मा ८६३ मत मात्रै ल्याएका छन्।

आइतबार मतदान भएकोमा गए राति मत गनेर सकिएको हो। संघको १३ औं कार्यसमितिको नेतृत्व छान्नका लागि दुई हजार ५८ जना मतदाता थिए।संघको नेतृत्वका लागि नेपाली कांग्रेसनिकट दुई प्यानल चुनावी मैदानमा थियो।

कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका हर्षविक्रमलाई अध्यक्षमा सत्तागठबन्धनले समर्थन गरेको थियो। महासचिव रहेका कँडेललाई अध्यक्ष पदमा कांग्रेसका नेता शेखर कोइरालानिकट व्यवसायीहरू र नेकपा एमालेनिकटले सहयोग गरेका थिए।

खड्काको प्यानललाई कांग्रेसको संस्थापन पक्षसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट व्यववसायीको समर्थन थियो।कँडेलको प्यानललाई कांग्रसको संस्थापनइतर समूहनिकट व्यवसायी र एमाले निकट व्यवसायीहरुले साथ दिएका थिए।

वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत विजयी भएका छन्। वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत निर्वाचित भए। यस्तै उद्योग उपाध्यक्षमा सिंहराज वम निर्वाचित हुँदा महिला उपाध्यक्षमा तारा रावल विजयी भइन्। महासचिवमा भद्र भण्डारी विजयी भएका छन्।

उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री निर्वाचित भएको संघले जनाएको छ। सदस्यहरुमा खड्काको समूहबाट सबैभन्दा धेरै निर्वाचित भएका छन्। महिला सदस्यमा कृति शाक्य गुभाजु निर्वाचित भएकी छन्। एसोसियट सदस्य जनकबहादुर थापा र आरक्षणतर्फको सदस्यमा सन्तोषकुमार बराईली पनि खड्का समूहबाटै निर्वाचित भएका छन्।

खड्का समूहबाट खुला सदस्यमा पहलसिंह बस्याल, अर्जुनजंग शाही, लक्ष्मण खत्री देवकोटा, अजय गुरुङ, भुवन ज्ञवाली र बुद्ध तामाङ निर्वाचित भएका छन् । कँडेल समूहबाट महिला सदस्यमा लक्ष्मीकुमारी तिवारी शर्मासहित खुला सदस्यमा गणेश खड्का, दीपक खड्का, विन्द्रप्रसाद जैसी, रमेश बराल, सागर भुषाल निर्वाचित भएका छन्।

प्रतिक्रिया