राउटेलाई खाद्यान्न

राउटेलाई खाद्यान्न

दैलेख : लोपोन्मुख जाती राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराईएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो । एइआइएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले खाद्यान्न उपलब्ध गराएको हो ।

राउटे समुदायका ४० परिवारलाई खाद्यान्न उपलब्ध गराइएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । उनका अनुसार बस्तीमा ६ जना भन्दा बढि सदस्य रहेको १० परिवारलाई प्रतिपरिवार दुई बोरा चामल र दुई प्याकेट नुन प्रदान गरिएको छ । ३० परिवारलाई एक बोरा चामल र एक प्याकेट नुन सहयोग उपलब्ध गराईएको जोडी शिक्षक खत्रीले बताए ।
मंगलवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापासहितको टोली समुदायको बस्तीमै पुगेर खाद्यान्न उपलब्ध गराएको हो । हाल जाजरकोटको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बसोबास गर्दै आएका राउटे नागरिकको जनसंख्या एक सय ४४ जना छ ।

राउटे जाती मानव सभ्यताको ईतिहास बोकेको समुदाय हो । त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन् । आफ्नै मान्यता तथा मौलिकताभित्र रहि जीवनयापन गरिरहेका राउटे आधुनिक मानव समाजबाट टाढै छन् । उनिहरु जंगल, बन्यजन्तु र प्रकृतिसँग निकट छन् । समुदायभित्र विभेद र वर्ग विभाजन छैन् । यो नै राउटेको पहिचान हो । राउटेहरु पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्थे । तर, अहिले राउटेका लागि अहिले पैसा अनिवार्य जस्तै भईसकेको छ । स्थायी बसोबास लेखपढ र खेतीपाती गर्नुलाई महाशत्रु ठान्छन् ।

सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु नै राउटेको जीविकोपार्जनको मुख्य स्रोत हो । स्थायी रुपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता नै हो । धार्मीक, सांस्कृतिक र मौषम अनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाई सरिरहन्छन् ।

मुख्यतया दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङ जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे खाम्ची भाषा बोल्न गर्दछन् । राउटे समुदायमा रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेका छन् । राउटे नागरिकहरु दैलेखको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

 

प्रतिक्रिया