दैलेखमा पहिलो दिन ६४ जनाको उम्मेदवारी दर्ता

दैलेखमा पहिलो दिन ६४ जनाको उम्मेदवारी दर्ता

दैलेख : निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतवार पहिलो दिन उम्मेदवारी दर्ता गराउन दैलेखका ११ स्थानीय तहमा ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमा प्रमुख ७, उपप्रमुख २, वडाध्यक्ष २३, खुला सदस्य १२, महिला सदस्य ९ र दलित महिला सदस्य ११ जनाको उम्मेदवारी परेको छ ।

११ स्थानीय तह रहेको दैलेखका तीन वटामा एउटै पनि उम्मेदवार नपरेको त्यहाँका निर्वाचन अधिकृतहरुले जानकारी दिनुभएको छ । कुनै पदमा उम्मेदवार नपर्नेमा ठाँटीकाँध, डुंगेश्वर गाउँपालिका र आठबीस नगरपालिका हुन् ।

प्राप्त विवरण अनुसार ६ वटा पालिकामा ७ जना प्रमुख र दुई वटामा एकएक जना उपप्रमुखले उम्मेदवारी दर्ता गराएका छन् । दुल्लू नगरपालिका राप्रपाकी नन्दकला योगी र गुराँस गाउँपालिकामा नेमकिपाकी पार्वती ओलीको उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।

पालिका प्रमुखमा उम्मेदवारी दिनेहरुमा दुल्लू नगरपािलकामा राप्रपाका गणेश रेग्मी र स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्की हुनुहुन्छ । पालिका प्रमुखमा उम्मेदवारी परेका पाँच पालिकामा गुराँस गाउँपालिकामा नेमकिपाका उदयजंग शाही, महाबु गाउँपालिकामा स्वतन्त्र चेतप्रसाद जैसी, भगवतीमाई गाउँपालिकामा राजमोका नरबहादुर सिंहले दलीय प्रतिनिधित्व गर्दै उम्मेवारी दिएका छन ।

Logo

त्यसै गरी नौमूले गाउँपालिकामा विद्याप्रसाद शर्मा र भैरबी गाउँपालिकामा चेतप्रसाद जैसीले स्वतन्त्र उम्मेवारी दिएका छन । त्यसैगरी जिल्लाभर २३ वडा जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा ६ जनाको स्वतन्त्र उम्मेवारी परेको छ ।

११ स्थानीय तहका ९० वडाका वडाध्यक्ष र सदस्यहरु समेत चार सय ५० र २२ जना प्रमुख तथा उपप्रमुख समेत चार ७२ जना प्रत्यक्ष मतदानबाट जनप्रतिनिधि चुन्न यस पटक वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय दिएको छ ।

सत्तारुढ गठबन्धन दलहरुमा पदीय भागबण्डाको अझैं सहमती हुन नसकेको र गठबन्धनको प्रभावका आधार आफ्ना उम्मेदवार खडा गर्ने एमालेको रणनीति भएका कारण पहिलाे दिन उम्मेदवारी दर्ता नभएको नागरिक समाजका अगुवा अधिवक्ता खड्गबहादुर सिजापतिको टिप्पणी छ ।

सत्तारुढ गठबन्धन दलहरु नेपाली काँगेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । गठबन्धन दलका प्रदेश नेतृत्वमा सहमती भइसक्यो भनिएका पालिकाहरुमा पनि घण्टैपिच्छे फरक फरक विवरण आइरहेकोले कार्यकर्ता अन्यौलमा परेका छन् ।

जिल्लामा राजनीतिक समझदारी राम्रो रहेकोले सोमवार सबै दलहरुको उम्मेवारी आउँदा कागज प्रक्रिया पुरयाएर ल्याउन, दलहरुले समय फरक पारेर आउन भनिएको दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले बताए ।

प्रतिक्रिया