सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

सुर्खेत : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन भएको छ । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिकाको उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

यस्तै, माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको प्रमुख र चिंगाड, बराहताल र सिम्ता गाउँपालिकाको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । माओवादीले चौकुने गाउँपालिकाको उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । वडामा पनि गठबन्धनबीच सहमति हुन सकेन ।

यसअघि पाँच दलीय गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार प्रदेशस्तरीय संयन्त्रले कर्णालीका १० मध्ये आठ जिल्लामा मनोनयनअघि नै स्थानीय तहको भागबन्डा टुंग्याएको थियो । सुर्खेत र रुकुममा मात्रै सहमति नहुँदा सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए । माओवादी र समाजवादीले चौकुने गाउँपालिका अध्यक्षमा दाबी गर्दा पाँच दलीय गठबन्धनबीच सहमति जुट्न सकेको थिएन ।

यसैबीच, प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी २५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, स्वतन्त्र उम्मेदवारी दिएका चिन्तामणी शर्मा पौडेल, प्रमुख पदकै लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले पनि फिर्ता लिएका छन् । नगर उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामकुमारी थापा र दिपेन्द्र ढकालले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया