जनता नेताको प्रयोगका लागि भोट बैँङ्क मात्र भयौँ

जनता नेताको प्रयोगका लागि भोट बैँङ्क मात्र भयौँ

सुर्खेत : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेता कार्यकर्ता गाउँगाउँ पुगिसकेका छन् । गाँउघरमा यतिबेला स्थानीय तहको रौनक बढ्दो छ । नेता देखि कार्यकतामा चुनावको उत्साह छ । सडक देखि घरको भित्तालाई चुनाव लागेको छ । तर, दैनिक मज्दुरी गरेर खाने र आर्थिक अभावले थला परेकालाई भने चुनावले उत्साह भन्दा दिक्क बनाएको छ ।

सहरदेखि गाउँघरका कुना काप्चासम्म चुनावी रौनकता बढे पनि दैलेखको ठाटीकाँध गाउँपालिका –१ खातीगाउँकी सेतु विकलाई भने चुनाव आउन भन्दा नआए हुन्थ्यो भन्ने लागेको छ ।

चुनावमा मेरा नेता चिताउन भन्दै भोट माग्न घरमा आउनेले दिक्क बनाएको उनी बताउँछिन् । एक तलाको घर । श्रीमान बिरामी भएर आँगनमा सुतेको महिनौ भयो । महिनौ अघि श्रीमानको हालखबर नपुछ्ने नेता कार्यकर्ता भोटकै लागि श्रीमानको हालखबर पुछ्दै हिड्छन् ।

घरमा श्रीमान रतन बिक प्यारालाइसेस भएर ओछ्यानमा सुतेको महिनौसम्म ओछ्यानमा रहदा सेतुलाई बाटोमा देखे बाटो परिर्वतन गर्ने नेतामा पनि दुइ हात जोडेर नमस्कार गर्दा उनी चकित पर्छन । पहिले रतनको हालखबर जान्न कोही नेता आएनन् । जब चुनाव लाग्यो घरमा भोट माग्न आउने नेता र आश्वासनले भारि घरमै बिसाउछन् ।

चुनाव अघि सुनसान रहने घरमा चुनावका लागि घर आउनेहरुबाट दिक्क भएको सेतु बताउछिन् । श्रीमान बिरामी भएर ओछ्यानमा लम्पसार हुँदा कसैले सहयोग गरेनन्,’उनले भनिन्, ‘जब अहिले चुनाव लाग्यो भोट माग्न नेताको लर्को लाग्छ । हामी नेताको चुनावका लागि मात्र प्रयोग हुने भोट बैँङ्क भयौँ ।’

सेतुका घरमा खाउ त अन्न छैन । साँझबिहानको एक छाक टार्न पनि मुस्किल हुन्छ । पाँच जनाको परिवार छ । जग्गा जमिनका नाउमा एक पाथि अन्न उब्जने जग्गा समेत छैन । पाँच जनाको परिवार पाल्नै हम्मे हम्मे भएको छ । कमाइ काज गरेर परिवार पाल्ने श्रीमान नै बिरामी भएर ओछ्यानमा पल्टे पछि सेतुको अर्को सहारा भन्ने कोही छैन । छोरा छोरी सानै छन् ।

छोराहरु सानै भएपनि बाबुले लाएको ऋण तिर्न छोरालाई मज्दुरीका लागि परदेशको कालापहाड पठाउने योजनामा रहेको उनी बताउँछिन् । घरमा खाउ भने अन्न दाना छैन,’उनले भनिन्, ‘श्रीमान बिरामी हुँदा लगायको साहुको ऋण तिर्नु छ । छोरा सानै भए पनि उस्लाई कालापहाड पठाएर साहुको ऋण तिर्नु छ ।’

 

प्रतिक्रिया