देश विकासको साझा मोडेल लिएर गठबन्धन दल चुनावी प्रतिस्पर्धामा : राना

देश विकासको साझा मोडेल लिएर गठबन्धन दल चुनावी प्रतिस्पर्धामा : राना

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता रानाले जनउत्तरदायी जनप्रतिनिधि चुन्न मतदाताहरु सजग हुनुपर्ने बताएकी छिन् । उनले दलको प्रतिनिधित्व गर्दै जाने जनप्रतिनिधिहरुले जनता र सम्वन्धित दलप्रति जवाफदेही गराइने बताइन् ।

दैलेख सदरमुकामको नारायण नगर स्तरीय चुनावी अभियानको पहिलो सभा नारायण नगरपालिकाको देउतीथानमा भएको कार्यक्रममा केन्द्रीय सदस्य रानाले देश विकासको साझा मोडेल लिएर गठबन्धन दल चुनावी प्रतिस्पर्धामा आएको प्रकाश पारिन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले संविधानको रक्षा र संघीय व्यवस्थाले राखेको उद्देश्य प्राप्तिका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमोर्चा समेतको चुनावी संयुक्त गठबन्धन गरिएको प्रष्ट्याए ।

नेपाली काँग्रेसका पूर्वसभापति पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काले गठबन्धन दलहरुलाई इमान्दारिताका साथ परिचालन गर्न देउती मन्दिरमा पहिलो कार्यक्रम सुरुवात गरिएको बताए । उनले नारायण नगरपालिकाका लागि गठबन्धनका तर्फबाट मेयर उम्मेदवार निर्मला खड्का र उपमेयरका उम्मेदवार सावित्री मल्ललाई विजयको शुभकामनासंगै टिका र माला लगाइदिएका थिए ।

नगर स्तरीय चुनावी प्रचार समितिका संयोजक मनोज थापाको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, पूर्वसभापति कृष्णकुमार बीसी, पूर्व कोषाध्यक्ष पूर्णबहादुर खत्री, काँग्रेस नेता पूर्णबहादुर थापा र एकीकृत समाजवादीका नारायण नगर इञ्चार्ज बालकृष्ण केसीले पनि बोलेका थिए ।

नारायण नगरपालिकाका लागि गठबन्धनका तर्फबाट मेयर उम्मेदवार नेपाली काँग्रेसका निर्मला खड्का र उपमेयरका उम्मेदवार एकीकृत समाजवादीकी नेता सावित्री मल्लले आफूले जितेपछि जनताका लागि गर्ने कामको प्रतिवद्धता   जनाए ।
मेयरका उम्मेदवार खड्काले वैज्ञानिक शिक्षा प्रणाली, सबैका लागि सुलभ स्वास्थ्य सेवा, उन्नत प्रविधियुक्त कृषि व्यवसाय प्रवद्र्धन, संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन र न्यायोचित तरिकाले विकास पूर्वाधारको पहुँच विकास गर्ने संकल्प–पत्र प्रस्तूत पहिलो जनसभामा सार्वजनिक गरेकी छिन् ।

गठवन्धन दलहरुवीच कर्णाली प्रदेश स्तरबाट भएको सहमती अनुसार मेयरमा काँग्रेस र उपमेयरमा एकीकृत समाजवादीको उम्मेदवारी परे पनि तयारी नपुगेको कारण वडा स्तरमा तालमेल नमिले पनि मित्रवत रुपमा चुनावी प्रचार अभियान चलाउने जिल्ला स्तरमा सहमती भएको एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज टेकबहादुर खाणले जानकारी दिए ।

मित्रवत रुपमा चलाइने चुनावी अभियानमा मेयर र उपमेयरका उम्मेदवारहरु सहभागी हुने वडास्तरका कार्यक्रमहरुमा दुबै पार्टीका झण्डा तथा चुनाव चिन्ह राख्नुपर्ने र सहमती नभएका वडाहरुमा आपसी प्रतिस्पर्धी उम्मेदवारको प्रचार सामग्री टाँस्न वा वितरण गर्न पाइने छैन् ।

गठवन्धन समूहले वैशख २७ गतेसम्मको कार्यक्रम बनाएर प्रचारमा जुटेको छ । नारायण नगरपालिकामा गठबन्धन समूह र नेकपा एमालेबीच प्रतिस्पर्धा छ । त्यसो त राप्रपाले मेयर उपमेयरमा उम्मेदवारी दिएको छ भने नेमकिपा र माओवादी केन्द्रले मेयर पदमा मात्र उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया