पर्यटकलाई लोभ्याउदै सल्यानका पर्यटकीय क्षेत्र, पर्यटकको आर्कषण बढ्दो

पर्यटकलाई लोभ्याउदै सल्यानका पर्यटकीय क्षेत्र, पर्यटकको आर्कषण बढ्दो

सुर्खेत : कोभिडको लहर सुरु भएपछि दुइ वर्षसम्म पर्यटकीय क्षेत्रहरु अस्तव्यस्त नै रहे । चहलपहल सुन्य रह्यो । नितान्त एक्लिएका थिए । करिब दुइ वर्षसम्म सुस्ताएको पर्यटन लय सल्यानमा पुरानै अवस्थामा आउन थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले बिस्तारै गति लिन थालेको छ ।

कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालेपछि जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरुमा पर्यटकको घँुइचोनै लाग्ने गरेको छ ।नेपाल सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थलभित्र पर्न सफल कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, नेपालको ठुलो शंख रहेको शंखमूल पार्क, छत्रेश्वरी शक्ति पिठ लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा रहेको नेपालकै ठुलो शंख निर्माण गरिएको शंखमुल पार्कमा अहिले दैनिक दुइ देखी तीनसयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताए । गाउँपालिकाले टेण्डर आह्वान मार्फत एक करोड ६० लाख रुपैयाँमा शंखपार्क बनाएपछि अहिले पर्यटकको भिड लाग्ने गरेको छ । पहिले कोरोनाका कारण यहाँको पर्यटन क्षेत्र सुनसान थियो,’उनले भने, ‘कारोना संक्रमण कम भएर जनजिवन सामान्य बन्दा दैनिकजसो पर्यटकको चहलपहल निकै बढ्छ ।’

अन्य दिनभन्दा बिदाको दिनमा मा ३ सयदेखि ४ सयसम्म यहाँ पुग्छन्,’उनले भने, ‘शंखपार्कमा बढी मात्रामा जिल्लाका आन्तरिक पर्यटकका साथै, दाङ, सुर्खेत, नेपालगन्जसम्मका पर्यटक आउने आउछन्,’ उनले भने ।
के के छन् पार्कभित्र पार्कभित्र शिव पार्वतीको विशाल मुर्ति, शंख, बाहिरी वाल, पानीको फोहोरा, पौराणिक कालको झल्को दिने घर, चौतारा, शौचालय लगायतका पुर्वाधार बनाइएको छ । शंखमुलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जादा कुण्डमा शंख बिर्सेका कारण उक्त कुण्ड शंखमुल रहन गएको धार्मिक विश्वास रहेको छ । कुण्ड र मन्दिर पुरानै जीर्ण अवस्थामा रहेकाले फेरि मर्मत सम्भार गरी आर्कषक बनाइएको छ ।

रंग बदल्ने कुपिण्डे ताल

जिल्लाको अर्को पर्यटकीय गन्तव्य हो कुपिण्डे दह जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा पर्ने यो दह सदरमुकाम खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा पर्छ । ‘मिनि रारा’का नामले चिनिने दह क्षेत्र पहाडले घेरिएको छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दो छ । बराहदेवको दर्शन गर्न आउनेको घुँइचो उस्तै देखिन्छ । उत्तर–दक्षिणमा फैलिएको दहको क्षेत्रफल करिब दुई हजार आठ सय रहेको अनुमान छ । समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाईमा रहेको दहको उत्तरदेखि पानी बगेर आउने ठाउँ भएपनि तालदेखि पानी बगेर जाने कतै ठाउँ छैन । जति ठुलो पानी परेपनि तालमै विलय हुने स्थानीय कमल कुँवर बताउँछन् ।

दहले वर्षमा तीन रंग बदल्ने गर्छ,’उनले भने, ‘वर्षा, हिउँद र गर्मी मौसममा रंग बदल्ने गर्छ । वरीपरी पहाड र जंगल भएकाले पातपतिङगर खस्ने तर, आफै हराएर जान्छन् ।’

बिदाका बेला पाँच सयभन्दा बढी पर्यटक आउने गरेको बताउँदै उनले अहिले २३ वटा डुङ्गाबाट पर्यटकलाई सेवा दिँदै आइरहेको डुंगा चालक अमृत कुँवर बताउँछन ।

सल्यानको कुपिण्डे ताल सोचेभन्दा निकै सुन्दर र मणीय रहेको दैलेखका कन्चन उपाध्यायले बताए । आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्याप्त रुपमा पुर्वाधारको विकास गर्न सके सोचेभन्दा धेरैको घुइचो लाग्छ,’उनले भने, ‘सडक यातायात, सञ्चार, ताल वरपर बगैँचा निर्माण र राम्रो होटेलको व्यवस्था गर्न सक्ने हो भने देशी विदेशी पर्यटकको रोजाइमा पर्ने थियो ।’
कुपिण्डे तालमा धेरै जसो सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, बाँके, बर्दियासम्मका पर्यटक आउने गर्छन ।

मन्दिरप्रतिको आस्था बढ्दो

दहको छेउमा छ बराहदेवको मन्दिर । मन्दिरमा अधिकांश आफूले चाहेको वा मागेको पाइने विश्वासमा दर्शन गर्न आइपुग्छन् ।
मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पुरा हुने आस्थाले गर्दा थप पर्यटकको आकर्षण बढेको छ । मन्दिरमा भेडा, कुखुरा र कुपिण्डोको बली चढाउने गर्छन् ।

विशेषगरी पूर्णिमाको दिन, शनिवार, नयाँ वर्ष, दशैँतिहारको समयमा पर्यटकको लर्को लाग्ने पुजारी लाल कुँवरले बताए । विगत तीन वर्षदेखि तिर्थालु र पर्यटकहरु बढ्दै गएका छन्,’उनले भने, ‘मन्दिरप्रतिको विश्वास बढ्दै गएकाले पूर्णिमाका दिनहरुमा झण्डै तीनरचार सय सर्वसाधारणहरु पुजाआजा गर्न आउनेको भिड लाग्छ ।’
मन्दिरमा माघ शुक्लपूर्णिमा र बैशाख शुक्लपूर्णिमाका दिन मेला पनि लाग्छ । विशेषगरी लुम्बिनी र कर्णाली प्रदेशबाट सर्वसाारण मेला हेर्न आउने कुँवरले बताए ।

प्रतिक्रिया