नागरिकता पाएको छैन्, भोट हाल्न कहाँ पाउनु ?

नागरिकता पाएको छैन्, भोट हाल्न कहाँ पाउनु ?


नागरिकता बिहिन चन्द सेर्पा र उनको परिवार । 

दैलेख : चन्द सेर्पा उमेरले झण्डै ५० नाघे । विगत ३० बर्षदेखि दैलेखको ठाटीकाँध गाउँपालिका–३ रातीमाटे टोलमा बस्दै आएका चन्दसँग नेपाली नागरिकता छैन् । उनले आफु कहाँ जन्मिएको हुँ भन्नेबारे पनि ठम्याउन सकेका छैनन् । ‘म सानै थिए बुवासँग भारत गएँ, बुवा उतै बित्नुभयो, आमा अन्तै विहे गरि जानुभयो, अनी म बेसाहार बने, चन्द भन्छन् ‘म पूर्वतीर जन्मिएको हुँ भन्ने सुनेको मात्रै छु ।’ २० बर्ष हुँदा उनि दैलेख आएका हुन ।

ठाटीकाँधका युवाको साथमा दैलेख आएका उनले स्थानीय गगन कामीसँग विवाह गरे । यहि घरजम गरेर बसे । पत्नि गगनको माइतीघरबाट नागरिकता बनेको छ । तर, चन्दले नागरिकता प्राप्त गर्न सकिरहेका छैनन् । चन्द र गगनका तीन छोरा र तीन छोरी छन् । चन्दको नागरिकता नुहँदा छोराछोरीको जन्मदर्तासम्म पनि बनेको छैन् । उनका दुई छोरीको विवाह भईसकेको छ । ‘मेरो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बन्न सकेको छैन्, उनिहरुलाई पठनपाठनमा पनि समस्या उत्पन्न भईरहेको छ,’ उनि भन्छन् ‘म नागरिकता माग्न कहाँ जाउँ ?’ नागरिकता दिलाइदिन स्थानीय सरकार र नेताहरु समक्ष हारगुहार गर्दापनि कसैले चासो नदिएको उनको गुनासो छ ।

‘म अहिले पनि नागरिकता प्राप्तीको लडाईमा छु, तत्कालिन गाविस हुँदादेखि अहिलेका वडा कार्यालय र गाउँपालिकामा धाईरहेको छु, तर नागरिकता बन्ने छाँटकाट देखेको छैन्,’ उनले भने । ‘हरेक निर्वाचनमा मन खिन्न हुन्छ, गाउँले सबै भोट हाल्न जान्छन्, आफुभने नागरिकता पाउनै पनि संघर्ष गरिरहनुपरेको छ ।’ आफुले नागरिकता नपाएको बताउँदै चन्द्रले संसदीयदेखि स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित हुनुपरको गुनासो गरे । ‘अहिले गाउँभरी स्थानीय चुनावको चर्चा छ, पार्टीका झन्डा फहराइरहेका गाडीहरु दौडिरहेका हुन्छन्, भोट माग्न नेताहरु घरघर पुगेका छन्, मलाई भने चुनावको कुनै रौनक छैन्, भोट हाल्न पाउने भए त म पनि खुसी हुन्थे होला नी, नागरिकता नै छैन् भोट हाल्न कहाँ पाउनु ।’

उनि बर्षौदेखि आँखाको समस्याले ग्रसित छन् । आर्थिक अभावले आँखाको शल्यक्रिया समेत गर्न नसेको चन्दले बताए । नागरिकता नहुँदा रोजगारी समेत नपाउँदा परिवारको छाक टार्नै हम्महम्मे परिरहेको चन्दको गुनासो छ ।

प्रतिक्रिया