नेताका लागि हामी त भोट बैंक मात्र भयौं

नेताका लागि हामी त भोट बैंक मात्र भयौं

सुर्खेत : आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुन अब सात दिन मात्र छन् । निर्वाचन हुन एक हप्ता मात्र हुँदा राजनीतिक दलहरुले प्रचारप्रसारमा तिब्रता दिइएका छन् । यतिबेला घरदैलो अभियानमै कस्सिएका छन् । मतदाता फकाउन विभिन्न सुत्र प्रयोग गर्दै मतदाता पकाउदै आएका छन् । सधै जसो बारेकोट गाउँपालिका–२ रोकाय गाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न दिनहुँजसो नेता कार्यकर्ता आइरहन्छन् ।

सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारहरूले विभिन्न आश्वासन दिए । लगाउन सम्मका सुत्र लगाए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेको उनको मानसपटलमा ताजै छ । ‘तर जितेर गएपछि बैसाखी पनि दिन नसकेको वीरे कामी बताउँछन् ।

भेरी नगरपालिका –११ कटीगाउँका एकसय ५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्नका लागि छिमेकी मुलुक भारत सहित अन्य मुलुकमा गइरहेका छन्। धेरै परिवार विस्थापित समेत भइसकेका छन् । निर्वाचनको बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको अर्का स्थानीय नरबहादुर वरले बताए ।

‘नेताका लागि हामी त भोट बैंक मात्र भयौं,’ उनले भने, ‘भोट माग्नका लागि झूटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन ।’ यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

उनले दलहरूले वर्षौँदेखि सपना मात्र बाँडिरहेको बताइन् । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन्। पुर्ख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको छ । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा उडेको उनको भनाइ छ।

झण्डै तीनचार वर्षदेखि गाउँका अधिकांश मानिस ऋणमा डुबेर गाउँ छोड्न बाध्य छन्। हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्या वर्षौँदेखि बेवास्ता गरिरहेको उनको दुखेसो रहेको छ । गरीब निमुखाकै रगत पसिना चुसेर कहिले सम्म महल सजाउछौँ,’ भनिन्, ‘गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरेर जति धेरै माथि पुगेपनि एक दिन झुपडी खोज्दै आउनुपर्ने छ ।’

यसअघिको निर्वाचनमा गरेका वाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले बताउँछन् । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौँ,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ।’

उनका अनुसार जिल्लाभरका दुइ हजार भन्दा बढी परिवार जिल्लाबाहिर छन् । अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले ल्याएका एजेण्डा फेरि दोहरिएको नलगाड नगरपालिका–३ का गंगराम नेपाली बताउँछन्। ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेण्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था छ। अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ।’

प्रतिक्रिया