जुम्लामा दलित समुदायबाट दुइजना उम्मेदवार

जुम्लामा दलित समुदायबाट दुइजना उम्मेदवार

जुम्ला : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तह रहेको जुम्लामा दलित समुदायबाट दुइजना महिलाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राजनीतिक परिवेशमा दलहरूले समावेशीका नारा घन्काए पनि यहाँका ८ वटा स्थानीय तहमध्ये २ वटाको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाइएको हो।

जुम्लामा १४ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिए पनि नेकपा माओवादी केन्द्रले मात्रै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पूर्णिमा विक र हिमा गाउँपालिका उपप्रमुखमा कल्पना परियारलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेस, एमाले, समाजवादी, नेमकिपा, राप्रपा, जसपालगायत अरु कुनै पनि राजनीतिक दलले प्रमुख वा उपप्रमुखको उम्मेदवार नबनाएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम नेपालीले बताए। उनले भने, ‘यस पटकको स्थानीय तहको निर्वाचनमा पनि राजनीतिक दलहरूले समावेशी नारा नारामै सीमित बनाएको छ।

स्थानीय तहको प्रमुखमा कुनै पनि राजनीतिक दलले उम्मेदवार बनाएनन् । माओवादीले मात्रै चन्दननाथ र हिमा गाउँपालिकाको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाएको हो।’

नगर उपप्रमुख पदकी उम्मेदवार पूर्णिमा विकले २०५७ सालमा माओवादी जनयुद्धमा होमिएको बताइन्। उनले भनिन्‚ ‘मेरो राजनीतिक यात्रा त्यति वेलादेखि शुरु भएको हो।’ माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेकी विकले कानुनी रूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नदेखिएको बताइन् ।

हिमा गाउँपालिकाको उपप्रमुखकी उम्मेदवार कल्पना परियार यसअघि जिल्ला समन्वय समिति जुम्लाकी सदस्य पनि हुन् ।

दलित समुदायलाई गैरदलित समुदायले नै अवसरबाट वञ्चित गरी पछि पार्ने गरेको छ आरोप उनले लगाइन् । उनले भनिन्‚ ‘यस पटक माओवादी केन्द्र पार्टीले हिमा गाउँपालिका उपप्रमुख पदको उम्मेदवार बनाएर जिम्मेवारी बनाएको छ। निर्वाचित भएपछि दलितले पनि अवसर पाएपछि काम गर्न सक्ने रहेछन् भनेर सबैले देख्न सक्ने गरी काम गर्नुछ।’

प्रतिक्रिया